वागीश्वरीमा तीन दिनसम्म गाईको पूजा र सङ्गीतमय गौ कथा प्रवचन हुने
चितवन – भरतपुर महानगरपालिका–१, वागीश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्र परिसरमा तीन दिनसम्म गाईको पूजा र सङ्गीतमय गौ कथा प्रवचन हुने भएको छ । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित गौ संरक्षण केन्द्रको आयोजनामा त्रिदिवसीय सामूहिक गौ पूजन एवं सङ्गीतमय गौ कथा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमबारे जानकारी दिन गौ संरक्षण केन्द्र परिसरमा मङ्गलबार पत्रकार सम्मेलन गरिएको थियो । गौ संरक्षण केन्द्रका संयोजक नवराज ढकालले कात्तिक १५ गते बिहीबारदेखि १७ गते शनिबारसम्म सामूहिक गौ पूजन एवं सङ्गीतमय गौ कथा कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले लक्ष्मीपूजा, गाईपूजा र गोवद्र्धनपूजाको अवसरमा धर्म, संस्कार र संस्कृतिको रक्षार्थ आयोजित यो कार्यक्रम अठार पुराणका व्याख्याता पण्डित कुबेर सुवेदीको प्रमुख आतिथ्यमा हुन गइरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै संस्कृत एवं संस्कृतिविज्ञ डा. गुरुप्रसाद सुवेदीले तिहारमा गाईको पूजा गर्दा सकभर स्थानीय जातका गाईको पूजा गर्नुपर्ने बताए । उनले धार्मिक मान्यताअनुसार पूजाआजामा विकासे (जर्सी, होलिस्टन) गाईको दूध, दही, घ्यु चढाएर फल प्राप्त नहुने स्पष्ट पारे । ‘अध्ययन अनुसन्धान गर्दै जाँदा थाहा भयो कि गाईको जुन विशेषता हुनु पर्ने हो त्यो जर्सीमा छैन । त्यसकारण धार्मिक दृष्टिले जर्सी गाईको दूध अपवित्र भन्न मिल्ने रहेछ’ उनले भने ।
डा. सुवेदीले स्थानीय जातका गाईको दूधमात्र नभई गोबर र गहुँत (पिसाब) समेत शरीरलाई ऊर्जा दिने खनिज पदार्थयुक्त एवं औषधीय गुणले भरिपूर्ण रहेको जानकारी दिए । ‘आयुर्वेदका धेरै औषधीहरुमा गाईकै घ्यु चाहिन्छ’ सुवेदीले भने, ‘जनस्वास्थ्य र धार्मिक दृष्टिले पनि गाईको धेरै महत्व छ ।’
कार्यक्रममा भरतपुर–१२ निवासी बाबुराम अधिकारीले गौ संरक्षण केन्द्रका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । अधिकारी नारायणी जग्गा तथा आवास व्यवसायी संघ भरतपुरका अध्यक्ष हुन् ।
तपाइँको प्रतिक्रिया