मौलिक तीज पर्व र यसका चुनौती
निरुता बि.क,
तीजका खाजा मिठो कलिलो तामाले, नरोउ भान्जि लिन आउँछु भन्थे आमाले, मामा आउँछन् भन्दै पारी हेर्दै किन आउँथे हाम्रा मामा माइजु छोडेर… केही दशक अगाडि यस्ता गीतहरु महिला दिदी बहिनीले गाउँघरका चौतारा, घर आगनमा गाएको सुनिन्थ्यो । तर, हिजोआज यस्ता गीत गाएको सुनिदैन । आधुनिक गीतहरु डेकमा लगाएर नाँचिरहेको देख्न सकिन्छ । यसरी नै हाम्रो समाजमा परम्परागत पर्व तीजको मौलिकता हराउँदै गएको पाइन्छ । मौलिक तीज पर्व र यस्का चुनौती लेख्नुभन्दा पहिला यसको परिचय जान्न जरुरी छ ।
परिचय
‘तीज’ हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । यो पर्व भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म चार दिन मनाइने यो पर्वको धार्मिक साँस्कृतिक तथा सामाजिक महत्व रहेको छ । जनसङख्याको आधा आकाश ओगटेका नेपाली नारीहरुले विगतमा आफ्ना पिडा दुःख गीत संगितको माध्यमबाट पोख्ने, माइती मावली इष्ट मित्रसँग भेट गर्ने, मिठा परिकार खाने पर्वको रुपमा लिने गरेको पाइन्छ ।
नेपाली समाज पुरुष सतात्मक समाज भएकाले पारिवारिक रुपमा नारीलाई विभिन्न अधिकारबाट वञ्चित गरिएको थियो । राज्यका कतिपय कानूनहरु नारी अधिकारका सम्बन्धमा विभेदकारी थियो । परिवार समाज र राज्यबाट अपहेलित भएका महशुस गर्दै नारीहरुले घर, समाज र देशका विकृतीहको बारेमा गीत संगितको माध्यमबाट घरका आँगन, चौतारी, गल्लीहरु गुञ्यामान गर्ने प्रचलन छ ।
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूले स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि खुसीका साथ मनाउने गरेको हामी देख्न सक्छाँै । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो वर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएको विश्वास गरिन्छ ।
तीजको धार्मिक पृष्ठभूमि
तीज पर्वको धार्मिक महत्व पनि बेग्लै किसिमको छ । हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने बचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न थालिन् ।
यसरी पार्वतीको कठोर वर्तको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विबाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
सामजिक पृष्ठभुमि
समाज परिर्वतनशील हुन्छ । सोही अनुरुप अहिलेको आधुनिक समाजमा परिणत हुँदै गएको पाइन्छ । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि तीज एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा हुन्छन् । यसरी आफू जन्मेको घर, आमाबुवा, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी श्रीमानको घरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कम गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई घरको जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।तीजमा बिवाहित महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अबिवाहित असल श्रीमानको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ ।
तीज पर्वका महत्व
१ . सामाजिक सद्धभाव, मेलमिलाप एवं समाजका विविध विसङगति र सामाजिक अधिकारलाई उजागर गर्ने विभिन्न प्रकारका पर्वजस्तै तीजको पनि आफनै महत्व रहेको छ ।
२. तीजको पनि आफनै मौलिकता रहिआएको छ । यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ ।
३. देशमा प्रजातन्त्र र लोकतन्त्रको समयमा सामाजिक विभेद अन्तका लागि तीजका गित संगितहरुले पनि विभिन्न कालखण्डमा महत्वपुर्ण भूमिका रहेको पाइन्छ ।
देशमा लोकतन्त्रको स्थापना नयाँ सविधानको जारी गरिएपछिको समयमा नेपाली नारीहरुको थुप्प्र्रै अधिकार सुनिश्चित भएको पाइन्छ । यहि अधिकारमा आधारित रहि नारीहरुले तीजलाई धार्मिक, साँस्कृतिक मनोरञ्जनात्मक पर्वको रुपमा मनाउँछन् ।
विगतका तीज
मलाई बालापनको सम्झना छ । दिदी बहिनीसँग मिलेर तीजको दुई तीन दिन अगाडिदेखि कस्तो सारी लगाउने, कस्तो चुरा, झुम्का के लगाउने त भनेर योजना बनाउने गर्दथे । त्यसपछि तीजको अघिल्लो रात आमाले खिर बनाउँनुहुन्थो, केरा, दही मिसाएर सबैजना जम्माभई खिर खान्थौँ । घर परिवार सहित चेलिबेटीहरु जम्मा भएर आँगनमा तीजका गीत गाइन्थ्यो ।
ती गीतहरु पनि जीवनमा भएका घटनाका आधारित हुन्थ्यो । कोही गीत गाउनुहुन्थ्यो त कोही मादल बजाउनुहुन्थ्यो । कोही छमछमी नाच्नुहुन्थ्यो त कोही थप्पडी बजाउनुहुन्थ्यो । हिजोआज विगतका गीत गाएको सुनिदैन । आधुनिक गीतहरु डेकमा लगाएर नाँचिरहेको देख्न सकिन्छ । यसरी नै हाम्रो समाजमा परम्परागत पर्व तीजको मौलिकता हराउँदै गएको पाइन्छ ।
आजभन्दा छ सात वर्ष अघि झ्याउरे गितहरूको प्रभाव र प्रयोग बढ्दो थियो । पहिले नारीहरू मात्र गाउँथे, अहिले त नारी र पुरुषको दोहोरी ब्याटल चल्छ । तीजको अर्को मौलिक पक्ष भनेको सुखदुःख र मनको पिडा पोख्ने, गीतहरुमा पनि एउटा छुट्टै संस्कृति बोकेको र गीत कै माध्यमद्वारा सन्देश पनि दिने गरिन्थ्यो ।
अहिलेको तीज
उश्रृङखल र उतौलो शैलीमा पुरुषले साडी चोली, महिलाहरुले पश्चिमा संस्कृतिका पोसाक लगाएर नाच्ने, दरखाने निहँुमा रक्सी खाई उताउला छाँडा गीतसहतिको तीजले मौलिकता गुमेको छर्लङग हाम्रो समाजमा देख्न सकिन्छ । नेपाली महिलाहरुको महान् पर्व भन्दै गर्दा कतै आफ्नो मौलिकता नै गुमाउन थालेको त होइन तीजले भन्ने प्रश्न पनि जनमानसमा गुञ्जिन थालेको देखिन्छ ।
समाज परिर्वतनशीलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिँदैन । तीज धार्मिक आस्था र साँस्कृतिक महत्वका साथ मनाइने भएपनि आधुनिकताका नाममा अनावश्यक तडक भडक तीज आउनुभन्दा एक डेढ महिनादेखि पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दर खाने, खुवाउने र गरगहना र पोशाकको प्रदर्शन गर्ने चलन चल्न थालेपछि तीज पर्वकोे वास्तविक मौलिकता हराउन थालेको छ ।
देखासिखीको कारणले तीज पर्व नै भड्किलो बन्न सक्ने अवस्था सिर्जना हुन्छ । हुने खानेको देखासिकी गर्दै ऋण खोजेरै भएपनि कपडा र गर–गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा धेरै देखिन्छन् । घाँटी हेरी हाड निल्नु भन्ने प्रचलित उखान छ तर हाम्रो समाजमा यो उखानको सार्थकता देखिदैँन ।
गर–गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तीज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउँदै जानेमा पनि पुराना पिढिको तर्क छ । यसरी देखासिकीको रुपले विकृति निम्त्यायो भने गरिब महिलाहरुले यो पर्व मनाउनेभन्दा पनि कसरी पर्व छल्ने तर्फ चिन्तित बन्ने देखिन्छ ।
भड्कँदो प्रवृतिका कारण घर घरायसी बेमेल र लैंगिक हिंसा हुने गरेकोपनि देखिन्छ । तर प्रतिस्पर्धात्मक रुपमा आफ्नो क्षमताभन्दा माथि उठेर तीज पर्व मनाउने प्रचलन उतिकै छ । माइतीको घर आँगनबाट क्लब र पार्टी प्यालेसमा, साडीबाट विदेशी लेहेङ्गामा परिणत भएको छ ।
नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा बजारमा आएका गीत नेपाली मौलिक पन, नेपाली संस्कृतिभन्दा फरक तरिकाबाट तोड मोड हुँदै नयाँ पन थपिदै आएका छन् । यसरी समाजको विकासको क्रमसगै गाएका तीजका गीतमा अहिले आएर भने देखासिखिले नराम्रो जरा गाडेको छ । स्वतन्त्रका नाउँमा छाडातन्त्रको हावी भएको छ ।
मानवीय संम्वेदना हराएको छ । प्रविधिको बढ्दो प्रयोग र पश्चिमा संस्कृतिको अनुकरणले तीजलगायत चाडपर्व भड्किलो बनेको र अहिले बजारमा आएका गीत पनि परिवारसँग बसेर सुन्न र हेर्न नमिल्ने खालका हुन थालेको छ ।
तीज पर्वका चुनौतीहरु
१, प्रविधिको दुरुपयोग
२, सामाजिकिकरणमा समस्या३, पुराना पिडीले संस्कृतिकको बारेमा नयाँ पुस्तालाई प्रोत्साहान नर्गनु
४, शिक्षित वर्गहरु भनिएकाहरु बाटनै संस्कृति जर्गेनामा जोड नदिनु
५, क्षणिक मनोरञ्जनका लागि अग्रसर हुनु
६, विदेशी संस्कृतिप्रति मोह बढ्दै जानु
तीज पर्वको संरक्षण कसरी गर्न सकिन्छ?
१, गाउँ समाजमा तीज पर्वको महत्व दर्शाउँदै जनचेतना जगाउने
२, सामाजिकिरणमा चेतनशिल वर्ग अग्रसर हुनुपर्ने
३, विकृति विसंगति लगायतका गतिविधिलाई निरुत्साहित गर्नुपर्ने
४,मौलिक सांस्कृतिक महत्वका विषयमा प्रोत्साहन हुने कृयाकलापहरु गर्नुपर्ने (जस्तै लेख रचना, नाटक, गीत संस्कृत आदी)
५, विकृति विसंगति भित्र्याउने व्यक्तिलाई कारबाहीको व्यवस्था गर्ने
निष्कर्ष
वास्तवमै यो चाड सहीरूपमा मनाइँदै छ त ? हामीले सोच्नेबेला आएको छ । नत्र यसले समाजमा धेरै विकृति र विसङ्गति भित्याउन सक्ने छ । तीज सहरिया र उच्च आर्थिक प्रदर्शन गर्ने माध्यम बन्नु हुँदैन । यसले हाम्रो समाज र नारीमा विभाजन, हिनताबोध ल्याउनु हुँदैन । जसले गर्दा कुनै नारीलाई हरेक हप्ता नयाँ पहिरन र गहना किन्न बाध्य नपरोस्, सक्नेले नयाँ पहिरन र गहना प्रदर्शन गर्न सम्भव होला, तर गरिब नारीहरूलाई के यो सम्भव हुन्छ त ? हुने खानेहरू तडकभडकमा विश्वास गर्छन् ।
निम्न वर्गका महिलाको लागि यस्ता चाडपर्व एउटा जटिल समस्या बन्दै गइरहेको छ । यिनै विकृतिहरूको कारण जन्मेका समाजमा दण्डहिनता, भ्रष्टाचार, हत्या हिंसा र चोरी डकैती नै आजको नेपाली समाजमा चुनौतीकै रूपमा अगाडि आएका छन् ।
यसतर्फ हामी सबैले सोच्ने बेला आएको छ । सभ्य र सहज तीज मनाउँदै भड्किलो तीजबाट हुने दुर्घटनाबाट आफू पनि बचौँ र अरुलाई पनि सचेत गराउनु पर्दछ । हाम्रा पर्वलाई सामाजिकिरण गर्न जरुरी छ तर एक महिना अघिबाट दरखाने प्रवृतिलाई हाम्रो समाजले घटाउनै पर्दछ । अर्कोतर्फ सामाजिक सञ्जालमा आइरहने उत्ताउला तीजका गितलाईलाई बहिष्कार गर्दै तीज पर्वको महिमालाई संरक्षण गर्नुपर्ने देखिन्छ ।
तपाइँको प्रतिक्रिया