भरतपुर – भक्तजनले ल्याउने प्लास्टिकजन्य सामग्री देवघाट क्षेत्रको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । देशका विभिन्न स्थानबाट पूजाअर्चनाका लागि पवित्र तीर्थस्थल देवघाट आउने भक्तजनले ल्याउने प्लास्टिकजन्य सामग्री चुनौतीको रुपमा देखा परेको हो । मेला महोत्सवका बेला अझ यहाँ अत्यधिक फोहोर हुने गरेको छ ।
अहिले साउन महिनाको सोमबार बोलबम मेलाका लागि टाढा–टाढाबाटसमेत भक्तजन आउने गरेका छन् । उनीहरुले पूजाअर्चनाका लागि ल्याउने अगरबत्ती, अबिर, केशरीका प्लास्टिक, खानेपानीका बोत्तल, पूजा सामग्री राखेर ल्याइएका प्लास्टिकको झोला र सूर्तीजन्य प्लास्टिकका खोलसमेत यत्रतत्र फाल्ने गर्दा फोहोर बढेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।



यस्ता फोहोर संकलनका लागि निश्चित स्थान तोकिए पनि तोकिएको स्थानमा नफाल्ने भक्तनजनको लापर्बाहीले प्रदूषित देखिन्छ । शव दाहसंस्कारका लागि आउने मलामीले फाल्ने प्लास्टिकका बोतल, ब्लेड, कपडा समेतले नदी क्षेत्र प्रदूषित बनेको छ ।
मंगलबार मात्रै चितवन, तनहुँ र नवलपुरको संगमस्थल देवघाट क्षेत्रबाट पाँच क्विन्टल प्लास्टिकजन्य फोहोर संकलन गरिएको छ । देवघाट क्षेत्र विकास समितिको आयोजनामा देवघाट क्षेत्र सरसफाइ कार्यक्रममा उक्त फोहोर संकलन गरिएको हो । कार्यक्रममा देवघाट संरक्षण प्रतिष्ठान, रामजानकी बालिका आश्रम, ईश्वर बालसेवा आश्रम, गार्गी कन्या गुरूकूल, नेपाल प्रहरी, भरतपुर महानगर प्रहरी, भूपू सैनिक, देहेन थर्वालिङ बौद्ध गुम्बा, नेपाल मगर बौद्धसेवा समितिका प्रतिनिधि एवं स्थानीय गरी डेढ सय बढी सहभागी थिए ।
समुदायका नागरिकलाई नै गैँडाकोट–५ स्थित सहमति संस्थाले सक्रिय बनाउँदै सहभागी गराउँदै आएको छ । ‘सफा र स्वच्छ नारायणी’ गराउने उद्देश्यका साथ सहमतिका क्रियाकलाप अघि बढाइएको छ । नारायणी नदीलाई सफा र स्वच्छ कायम राख्न ‘नदीसँगै हामी अभियान’ समेत सञ्चालन गरिएको छ । सहमतिको अगुवाइमा सुरू भएको यस अभियानमा चितवन र नवलपुरका गरी १२ वटा संघसंस्थाले सहकार्य गरेका छन् ।
जल प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र ल्यान्डफिल्ड साइट व्यवस्थापन मुख्य चुनौती पहिचान गरी यसको संरक्षणका लागि सोहीअनुरुपका कार्यक्रम तय गरिएको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताए । उनले भने, “जलाधार क्षेत्र संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो, स्थानीय र सरोकारवाला सबै पक्षसँगको सहकार्यमा वातावरण, जंगल र नदीको क्षेत्रमा सकारात्मक नतिजा दिन चाहन्छौँ ।”
धार्मिक क्षेत्रमा हुने फोहोरजन्य गतिविधिले चिन्तित तुल्याएको बताउँदै उनले नागरिकमा चेतना प्रवाह गर्नुपर्नेमा जोड दिए । “हाम्रा कार्यक्रम सोहीलक्षित छन्”, उनले भने ।
नदी मानवसभ्यतासँग जोडिएको छ । कतिपय मानव समुदायको जीविका नदीसँग जोडिएको छ । जलचर तथा जीवजन्तुसमेत नदीमा आश्रित छन् । नदी प्रदूषण हुँदा हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ । सहमति संस्थाले जलाधार क्षेत्रको सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक बोर्ड राख्ने, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षणमा सहजीकरणसमेत गर्दै आएको छ ।
देवघाट क्षेत्रमा हुने फोहोर कम गर्न देवघाट आउने भक्तजनको अनुमान गरी उनीहरुले ल्याउने फोहोरको आंकलन गरी त्यस्ता फोहोर व्यवस्थापन गर्नुपर्ने डब्लु डब्लु एफ नेपालको सहयोगमा संरक्षणमुखी कार्य गर्दै आएको ‘प्रकृतिमा आधारित समाधान– टिबिपी परियोजना’ का संयोजक खेमराज खनालले जानकारी बताए । उनले संकलन गरिएको फोहोर बाँदरले समेत लथालिङ्ग पार्ने भएकोले बाँदरले समेत फोहोर गर्न नमिल्ने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
सहमतिले देवघाट क्षेत्र विकास समिति, यहाँका स्थानीय, विभिन्न संघ संस्थाका प्रतिनिधिलाई समेत अभिमुखिकरण गरेको छ । घरायसी फोहोरमैला पृथकीकरणसम्बन्धी अभिमुखीकरण गर्नुका साथै फोहोर संकलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ । सहमतिले ५ वटा प्लास्टिकका बोटलमात्रै राख्ने ‘मेटलबिन’, त्यस्तै प्लास्टिकजन्य कागज राख्ने ‘मेटलबिन’, ब्लेड बक्स देवघाट क्षेत्र विकास समितिलाई प्रदान गरेको थियो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुण्यकार्यमा सरिक हुँदै गर्दा फोहोर गर्न नहुनेमा जोड दिए । देवघाट क्षेत्र विकास समितिको एक्लो प्रयासले फोहोर व्यवस्थापन चुनौती बनेको बताउँदै उनले सरसफाइका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिए । हरेक सोमबारको बोलबम मेलापछि मंगलबार सरसफाइ अभियान नै सञ्चालन गर्नेगरी कार्यक्रम तय गरेका छन् । यसमा सहभागिताका लागि देवघाट क्षेत्र विकास समितिले सम्पूर्णमा आह्वानसमेत गरेको छ ।