भरतपुर – भरतपुर अस्पतालले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै (ओपिडी)को टिकट काउन्टर थप गरेको छ । यसअघि जम्मा ५ वटा काउन्टरबाट टिकट वितरण गर्दै आएको अस्पतालले ३ वटा काउन्टर थप गरेर ८ वटा पुर्याएको हो ।
अस्पतालमा बहिरङ्ग सेवा लिनेको चाप नघट्ने हुँदा लामो समयसम्म लाइन पर्खेर बस्नुपर्ने समस्यालाई समाधान गर्नका लागि ओपिडी काउन्टर थप गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अस्पतालमा धेरै भीड हुँदा समयमै सेवा पाउन मुस्किल भो भन्ने गुनासो आइरहेकाले त्यसलाई कम गर्ने योजनासहित टिकट काउन्टर थप गरेको उनले बताए । सेवा थप गरे सँगै उनले भने, अब एक जना सेवाग्राहीलाई टिकट लिन जम्मा १० देखि १५ मिनेटसम्म लाग्न सक्छ ।
सेवाग्राही बिहान ५ बजेदेखि नै अस्पतालमा आएर लाइनमा बस्ने गर्थिए, टिकटको काउन्टर थप गरेपछि त्यो समस्या कम हुने उनको भनाई छ । बिल काउन्टरसमेत ८ वटै सञ्चालनमा रहेको उनले बताए ।
‘त्यसबाहेक अनलाइन टिकेटिङको सुविधा पनि छ। ‘जिओपिडीसमेत दुई सिफ्टमा सञ्चालित छ भने बिहान ८ देखि साँझ ५ बजेसम्मका लागि जिओपिडीको सुविधा दिँदै आएको उनले बताए ।
दन्तरोगसम्बन्धी परीक्षणका लागि बिहान साढे ९ बजेदेखि साँझ ५ बजेसम्म र अन्य टिकट बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म लिन सकिने अस्पतालले जनाएको छ ।
अपाङ्ग, ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि जिओपिडी, मेडिकल ओपिडी, अर्थोपेडिक सर्जरीलगायतलाई छुट्टाछुट्टै काउन्टरको व्यवस्था रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा पौडेलले जानकारी दिए ।
देशकै केन्द्रको रुपमा विकसित हुँदै आएको यस अस्पतालमा हाल दैनिक २ हजार जनाको हाराहारीले ओपिडी सेवा लिदै आएका छन् ।