भरतपुर – भरतपुरमा आयोजित राष्ट्रिय कविता प्रतियाेगिताकाे प्रथम पुरस्कार बाराकी सरू बस्नेतले जितेकी छिन्। नवसाहित्य मञ्जरी भरतपुर १३, चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट संकलित दुई सय कवितामध्ये निर्णायकहरूको मूल्यांकनपछि उत्कृष्ट नाैवटा कविता छनोट गरेर शनिबार सर्जकलाई भौतिक रूपमै उपस्थित गराएर अन्तिम प्रतिस्पर्धा गराएको थियो।
लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (एलटिके/हवेली)मा भएको अन्तिम प्रतियोगितामा बस्नेत प्रथम हुँदा नुवाकोटका कृष्णप्रसाद पौडेल दोस्राे र दाङका हरिप्रसाद पौडेल तेस्रो भए।
सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको नवसाहित्य मञ्जरीकी सचिव रमना अधिकारीले जानकारी दिइन्। उनका अनुसार प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुईजनाले जनही पाँच हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन्।
विजयीहरूलाई भरतपुर महानगरपालिका– १३ का वडाध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गरेका थिए। कविता मूल्यांकनका लागि वरिष्ठ साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गेँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्द विनोदी र वरिष्ठ साहित्यकार केशवराज भट्टराई आमोदीसहितको तीन सदस्यीय मूल्यांकन समिति बनाइएको थियो।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य रामहरि श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवि प्रा.डा. देवी नेपालको सहभागिता रहेको थियो।
आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रवर्द्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए। कार्यक्रमलाई गीतकार विष्णुबाबु देवकोटाले सहजीकरण गरेका थिए।