विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार जीवनशैली, खानपान र आनीबानीले प्रजनन् क्षमतामा सोझो असर गरिरहेको छ । पछिल्लो समय बाँझोपनको समस्या लिएर अस्पताल धाउनेको संख्या बढेको छ ।
त्यसो त बाँझोपनको समस्या हुनुमा एक मात्र कारण छैन । विभिन्न कारणले यस्तो समस्या हुने चिकित्सकहरुको भनाइ छ । सोही अनुरुप उपचार विधि पनि फरक-फरक छ । त्यसैले यसको नतिजामा एकरुपता छैन । कतिले सहजै रुपमा यसको समाधान पाएका छन् भने कतिपयले पाएका छैनन् । यसरी अस्पताल पुग्ने दम्पतीले चिकित्सककहाँ यी तीन प्रश्न सोध्नैपर्छ ।
पहिलो प्रश्न : बाँझोपनको पहिलो उपचार के हो ?
बाँझोपनको उपचार गर्नुअघि यो प्रश्न सोध्नु अत्यन्त आवश्यक छ किनभने ९० प्रतिशत केसहरूमा चिकित्सकले औषधिद्वारा उपचार गर्ने प्रयास गर्छन् । दम्पतीलाई औषधि दिन्छन्, जसले गर्भधारणको सम्भावना बढाउँछ । त्यस्तै बाँझोपनको समस्या भएका महिलालाई गर्भधारण कायम राख्न औषधि पनि खुवाउने गरिन्छ ।
साथै उपचारको प्रारम्भिक चरणमा दम्पतीको जीवनशैलीमा पनि परिवर्तन ल्याउन पनि चिकित्सकहरू सल्लाह दिन्छन् । कहिलेकाहीं उपचारका क्रममा दम्पतीले केही समय शारीरिक र मानसिक रूपमा छुट्टिनुपर्ने हुन्छ ।
दोस्रो प्रश्न : बाँझोपनको उपचारमा कुनै प्रकारको शल्यक्रिया हुन्छ ?
प्रजनन् क्षमताको उपचार गर्दा पहिलो चरणमा औषधिको प्रयोग गरेर पनि गर्भाधारण नभएमा आवश्यकता अनुसार शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर शल्यक्रिया अन्तिम विकल्पको रुपमा अपनाउने गरिन्छ । यसमा अवरुद्ध डिम्बवाहिनी नली खोलिन्छ । र, पछि बाँझोपनको उपचारसँगै पाठेघरभित्र निषेचित डिम्ब राख्ने गरिन्छ, जसले गर्भाधारण हुने सम्भावना बढ्छ । त्यस्तै पुरुषको हकमा शुक्रकीटवाहिनी नलीमा भएको अवरोध खोल्न शल्यक्रिया गरिन्छ ।
तेस्रो प्रश्न : पुरुष र महिलामा हुने बाँझोपनको उपचार फरक हुन्छ ?
महिला र पुरुषको बाँझोपन उपचारको प्रक्रिया फरक-फरक हुन्छ । चिकित्सकले पुरुषमा शुक्रकीटको कमी छ छैन पत्ता लगाएर सोही अनुरुप शुक्रकीटको गुणस्तर बढाउने औषधि दिने गरिन्छ । तर महिलाहरुमा सबैभन्दा पहिले के कारणले गर्भाधारण भइरहेको छैन त्यसको कारण के हो ? पत्ता लगाइन्छ ।
महिलामा बाँझोपनको समस्या डिम्ब निष्कासनमा समस्या वा पीसीओडीको कारणले हुनसक्छ । जुन औषधिले समाधान गर्न सकिन्छ । यस प्रकारको समस्या समाधान गर्न कतिपय बेला औषधि इन्जेक्सनका रुपमा दिइन्छ ।
एजेन्सीको सहयोगमा