चितवन – चितवनमा ५ सय ४२ किलो गाँजा बरामद गरिएको छ । प्रहरीले आज (सोमबार) बिहान ८ बजे राप्ती नगरपालिका ३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको ५ सय ४२ किलो गाँजा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ३९ वटा पोका ठूलो परिमाणमा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले बरामद भएको गाँजा धादिङको मलेखुबाट ट्रकमा लोड गरी ल्याईएको हुनसक्ने बताए।
प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे-३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि-४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ। उनिहरुलाई नियन्त्रणमा लिई उक्त दुवै ट्रक र लागुऔषध गाँजा बरामद गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।