काठमाडौं – नवनित धलिवाल र निखिल दत्तको अर्धशतकप्रेरित क्यानडा–११ ले तीन खेलको एकदिवसीय शृङ्खला अन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’लाई चार विकेटले हराएको छ ।आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा नेपाल ‘ए’ले दिएको २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९.३ ओभरमा ६ विकेट गुमाएर भेटायो ।
क्यानडाको जितमा नवनितले सर्वाधिक ८० रन बनाए । उनले ७६ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । ४५–४ को नाजुक अवस्थाबाट नवनितले निखिलसँग ७५ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए ।अन्तिमसम्म अविजित रहेका निखिलले ११५ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन बनाए । कप्तान साद जफरले २२ र श्रेयान्स मोभ्वाले २२ रन थपे ।नेपालका साहब आलमले दुई विकेट लिए । प्रतिश जीसी, राशिद खान, सागर ढकाल र बसिर अहमेदले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपाल ‘ए’ निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २१६ रनको योगफल खडा गरेको थियो ।नेपालका बसिर अहमेदले ५० रन बनाए । उनले ५५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । १३६–६ को अवस्थाबाट बासिरले विवेक यादवसँग सातौँ विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्याएका हुन् । विवेकले ३४ बलमा एक चौका र एक छक्कासहित २१ रन थपे ।
यस्तै, राशिद खानले ४० रन बनाए । राशिदले ६६ बलमा पाँच चौका प्रहार गरे । ६–४ को अवस्थाबाट राशिदले किरण ठगुन्नासँग पाँचौँ विकेटका लागि ४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । किरणले टिमको खातामा ३२ बलमा तीन चौकासहित २५ रन थपे ।ओपनर मयन यादवले ५६ बलमा चार चौका र एक छक्कासहित ३५ रन जोडे । सन्दीप जोराले १४ रन थप्दा अन्यले भने दोहोरो अंकमा रन बनाएनन् ।
क्यानडा–११ का कप्तान साद जफरले तीन विकेट लिए । दश ओभर बलिङ गरेका जफरले एक मेडन राख्दै ३० रन खर्चिए । ईश्वरजित सोहीले दुई विकेट लिए । डिलोन हाइलाइजर, हर्ष थाकेर र साहिद अहमदजाईले समान एक विकेट लिए ।नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेलेको यो पहिलो शृङ्खला हो । अब नेपालले मंगलबार दोस्रो र बिहीबार शृङ्खलाको तेस्रो खेल खेल्ने छ ।