भरतपुर – नेवाः पुच: नारायणगढले फाल्गुण १ र २ गते सामूहिक ईही र ब्रतबन्ध कार्यक्रम संस्थाको आफ्नै भवन मैंयादेवी मार्ग, कमलनगरमा सम्पन्न गरेको छ। ११ जना कन्या र ६ जना बटुकहरूले उक्त कार्यक्रममा भाग लिएका थिए ।
बेल विवाहलाई नेवार शब्दमा ‘इहि’ भन्ने गरिन्छ । विशेषगरी बिजोर वर्षको साइतमा बालिका रजस्वला हुनु अगावै गरिने संस्कार मध्य बेलविवाह महत्वपूर्ण संस्कार हो । नेवार समुदायमा केटीको आफ्नो जीवनमा तीन पटकसम्म विवाह हुन्छ । ती हरेक विवाहमा केटीको बुवाले कन्यादान गर्छन् ।
यिनीहरुमध्ये शुरुको कन्यादानको रुपमा बुवाले सर्वगुण सम्पन्न पुरुषार्थ ज्वाईंको रुपमा सुवर्णकुमारका प्रतिक बेलसँग विवाह गरिदिएर कन्यादान गर्ने गर्दछन् । त्यसैगरी व्रतबन्ध गरेका वटुकहरू मात्र धार्मिक परम्पराअनुसारका कर्महरू गर्न योग्य मानिने भएकाले नेवारी समुदायमा केटा पूजा एउटा महत्त्वपूर्ण कर्मको रूपमा लिइन्छ ।
विशेष गरी ७ वर्षदेखि १२ वर्षसम्मका किशोरहरूको व्रतबन्ध गर्ने परम्परा छ। नेवाः पुच: नारायणगढले अबदेखि हरेक वर्ष बसन्त पंचमीमा सामूहिक ईही र ब्रतबन्ध कार्यक्रम आयोजना गर्ने कुरा संस्थाका अध्यक्ष श्री शुक्र कुमार श्रेष्ठले बताए ।