चितवनमा फागुन ७ देखि हुने दीलिप राणा स्‍मृति भेट्रान तयारी अन्तिम चरणमा

एटुजेड समाचार

चितवन – स्व पाचौं दीलिप राणा स्‍मृति अन्तराष्ट्रिय आमन्त्रण एट ए साइड भेट्रान फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा फागुन ७ देखि १२ गतेसम्म हुने प्रतियोगिताको तयारी लगभग पुरा भएको हो । क्लबले आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत यस बारे जानकारी दिएको हो ।

कार्यक्रम संयोजक हरिप्रसाद भट्टले प्रतियोगितामा नेपाल र भारतका गरी १८ टोली सहभागी हुने जानकारी दिए । क्लबले आज नै खेल तालिका पनि सार्वजनिक गरेको छ । जस अनुसार नेपालका १७ र भारतको देहरादुन भेट्रान क्लब रहेका छन् ।

प्रतियोगितामा नेपालबाट एनआरटी भेट्रान, भनीमण्डल क्लब जावलाखेल, थापागाँउ सुधार समिति भेट्रान, बगरभाई खलक पोखरा, वीरगञ्ज सिटी भेट्रान, हेटौंडा भेट्रान, बौद्ध भेट्रान काठमाडौं, बुढानिलकण्ठ भेट्रान, फ्रिडम फाइटर, अभिषेक चर्च रजहर र सिमरा भेट्रान सहभागी हुनेछन् । यस्तै चाबेल भेट्रान, गोर्खा ब्वाइज भेट्रान, चितवन भेट्रान निलो, चितवन भेट्रान रातो र ताकामी भेट्रान रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रजहर र वीरगञ्ज सिटी भेट्रान भिड्नेछन् । उक्त खेल बिहान ११ बजे हुनेछ । सोही दिन दिउँसो ३ बजे चितवन भेट्रान निलो र हेटौंडा भेट्रान भिड्नेछन् । खेल भरतपुर ७ कृष्णपुरको रंगशालामा हुनेछ ।

यस वर्ष फरक शैलीमा प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठले बताए । क्लबहरुले प्लेइङ सेटमा ४० वर्ष माथिका ३, ४५ वर्ष माथिका ३ र ५० माथिका २ गरी ८ खेलाडी समावेश गर्नुपर्नेछ ।

प्रतियोगिताको विजेताले ट्रफ्रीसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७५ हजार रुपैयाँमा चित्त बुझाउनेछ । हरेक खेलको म्यान अफ दि म्याचले एक हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही पाँच-पाँच हजार रुपैयाँ पाउनेछन् ।

देश र विदेशबाट खेलाडीहरु आउने भएकोले यसले भरतपुर भ्रमण वर्षको प्रवर्द्धनका लागि पनि टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । प्रतियोगिताको मुख्य प्रायोजक स्व राणाका छोरा अभिनव राणाले बुवाको सम्झनामा हरेक वर्ष क्लबले गर्दै आएको प्रतियोगिताको प्रसंशा गरे । उनले यस प्रतियोगिताको आगामी संस्करणलाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतियोगिताका लागि भरतपुर महानगरपालिका र ग्रेस इन्टरनेशलले सह-प्रायोजकको रुपमा सहयोग गरेका छन् । क्लबले हरेक वर्ष स्व राणाको स्‍मृतिमा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू