भरतपुर – ठोरी एफसी छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आज (बिहीबार) सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा रत्नप्रिय एफसीलाई टाइब्रेकरमा हराउँदै ठोरीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । ठोरीले रत्नप्रियलाई टाइब्रेकरमा ५-४ ले हरायो ।
निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो । पहिलो हाफमा ठोरीका गोलरक्षक अनिश कुँवरको आत्मघाती गोलमा रत्नप्रियले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा रोहन कार्कीले गोल गर्दै ठोरीको हार टारे । ठोरीका मुन्ना मुन्ना चौधरी म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल यात्रा ग्रुप र रामपुर एफसीबीच दिउँसो १ बजे हुनेछ । दोस्रो खेलमा दिउँसो ३ बजे नारायणी एफसी र युनिक एफसी निलो भिड्नेछन् ।
युनिक क्लब भरतपुर ११ को आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।