चितवन, फागुन ३- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा क्रमशः उत्कृष्ट आउन थालको बताएकी छन् ।
बुधबार राष्ट्रिय माध्यमिक विद्यालय भरतपुर–७ कृष्णपुरको स्वर्ण महोत्सवलाई समापन गर्दै मेयर दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन आएको दाबी गरेकी हुन् ।
विगत सात वर्षमा शैक्षिक क्षेत्रमा ठूलो लगानी भएको छ’ मेयर दाहालले भनिन् , ‘भरतपुरका ११५ सामुदायिक विद्यालयमा धेरै पूर्वाधार निर्माण भए । संघ, प्रदेश र स्थानीय तहको ठूलो लगानीको प्रतिफल आइरहेको छ ।’
मेयर दाहालले भरतपुर महानगरपालिकाले कुल बजेटको १० प्रतिशत शिक्षा क्षेत्रलाई बिनियोजन गर्दै आएकाले अब निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा सामुदायिक विद्यालय पुगेको बताइन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षकको अहम् भूमिका रहने भएकाले महानगरले एक कक्षा एक शिक्षकको नीति पनि अंगिकार गरेको उनको भनाइ छ । ‘सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने संकल्प गरौ’,उनले भनिन् ‘सुरुवात आफैबाट गर्नुपर्छ । भरतपुरका सामुदायिक विद्यालय निजीभन्दा कम चाहिँ छैनन् ।’
मेयर दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नकै लागि व्यवहारिक शुक्रबार, मेयरसँग विद्यार्थी, छात्रावृत्ति, साइकल बितरण, न्यानो कपडा, बसका कार्यक्रमलगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिइन् ।
महानगरले एक विद्यालय एक खेल मैदान, एक कक्षा कोठा एक शिक्षक, एक वडा एक नमुना विद्यालय, शुक्रबार बुक फ्रि, जस्तापाता भएका ठाँउमा फलसिलिङ, आईसिटी ल्याब र प्रविधियुक्त कक्षा कोठालाई प्राथामिकता दिँदै आएको उनले बताइन् । संघीय गणतन्त्रको स्थापनापछि सामुदायिक विद्यालयको अवस्था गुणात्मक सुधार भई भरतपुरमा विगत ५ वर्षको अवधिमा ८ हजार विद्यार्थी थप भएको जानकारी दिइन् ।
महानगरपालिकाले अब भौतिक पूर्वाधारमा भन्दा अतिरिक्त क्रियाकलापमा जोड दिने गरी विद्यार्थीलाई व्यवहारिक र प्राविधिक शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उनले स्पष्ट पारिन् । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि काफ्लेले भरतपुरले गतिशील र दूरदर्शी नेतृत्व महानगर प्रमुख पाउँनु गर्वको विषय भएको बताए ।