चितवन- युवा व्यवसायी उपेन्द्र पण्डितले तनहुँ स्थित जलदेवी सामुदायिक बिधालयका विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो जन्मदिनको मनाएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगर निवासी उपेन्द्र पण्डितले आफ्नो पुर्खयौली थलो तनहुँको रतनपुर पुगेर त्यहाँ स्थित एक विद्यालयका विद्यार्थीहरुलाइ सो सामाग्री हस्तान्तरण गरेका हुन् । उवासंघ चितवनका कार्य समिति सदस्य समेत रहेका व्यवसायी पण्डितले भानु नगरपालिका वडा नम्बर १२ स्थित राष्ट्रिय जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालय पोशाक, शैक्षिक सामाग्री, सरसफाइका सामाग्री र विद्यालयलाई आवश्यक नक्सा, ग्लोब जस्ता सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
उक्त विद्यालयमा ३८ जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई एक वर्षलाई पुग्ने शैक्षिक एवं सरसफाईका सामाग्रीहरु वितरण गरेको पण्डितले बताए। यस संगै विद्यार्थीलाई खाजाका लागि विस्कुट लगायतका खाद्य सामाग्री पनि प्रदान गरेका थिए। पण्डितले विद्यालयका प्रध्यानाध्यापक रिना गुरुङ्लाई ग्लोब, नक्सा लगायतका शैक्षिक सामाग्री समेत प्रदान गरेका थिए ।
सोही अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि अध्यक्ष सुवास पण्डितलाई नगद २५ हजार रुपैया सहयोग रकम समेत हस्तान्तरण गरेका छन् । पण्डित हालै मात्रै उद्योग वाणिज्य संघ चितवनको सदस्यमा निर्वाचित भएका थिए ।
उनले भने “मैले आफ्नो जन्मदिनमा फजुल खर्च घटाएर आफ्नो पुर्खयौली थलोका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको हुँ ।” विद्यालयका प्रध्यानाध्यापक गुरुङ्ले विद्यार्थी र विद्यालयलाई अत्यावश्यक सामाग्रीहरु वितरण गरेर निकै सहयोग पुगेको बताए । सक्नेले आफ्नो जन्मदिन यसरी नै मनाएमा विपन्नलाई सहयोग पुग्ने उनको भनाई छ ।