महोत्तरी– वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्दछन् ।
किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलोको एवं गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा पनि गरेका छन् ।
जलेश्वर नगरपालिका–८ का किसान आशनारायण मण्डलले हलो र गोरुको पूजा गरिसकेपछि खेतमा लगेर एकछिन खेतबारी जोत्ने चलन रहेको बताए ।
किसानले आजकै दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् ।