चितवन – कृतन तामाङको दुई गोलको मद्दतमा रत्नप्रिय एफसीले छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबल प्रतियोगितामा जित हात पारेको छ ।
आज (आइतबार) भएको खेलमा रत्नप्रियले भतेरी एफसीविरुद्ध ४-० को सहज जित निकालेको हो । रत्नप्रियको जितमा कृतनले दुईसँगै सन्जय महतो र सुशील तामाङले एक-एक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । चारै गोल दोस्रो हाफमा सम्भव भयो । दोस्रो हाफको छैटौं मिनेटमा सन्जयको गोलबाट रत्नप्रियले अग्रता लियो । २४ औं मिनेटमा कृतनले गोल गर्दै अग्रता दोब्बर बनाए ।
२९ औं मिनेटमा सुशीलले गोल गरेपछि रत्नप्रियले ३-० को अग्रता लियो । अतिरिक्त समयको तेस्रो मिनेटमा कृतनले व्यक्तिगत दोस्रो गोल गरेपछि रत्नप्रियले ४-० को सहज जित हात पार्यो । कृतन म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा सोमबार दुई खेल हुनेछ । सोमबार पहिलो खेलमा दिउँसो १ बजे पटिहानी एफसी गैंडाकोट एफसी भिड्नेछन् । यस्तै दोस्रो खेलमा दिउँसो ३ बजे युनिक युथ र ठोरी एफसी भिड्नेछन् ।
फागुन ७ गतेस्म्म हुने प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक घलेले बताए ।
प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।