चितवन – भरतपुर महानगरपालिकासँगको सहकार्यमा चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको ‘ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ्ग २०८०’ आज (मंगलबार) सम्पन्न भएको छ । भरतपुर १५, रामपुरस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा आइतबारबाट सुरु भएको ट्रेनिङ्ग आज सकिएको हो ।
नेपालका अन्तर्राष्ट्रियस्तरका अम्पायरद्वय विनयकुमार झा र मोहम्मद सफिकद्वारा दिइएको प्रशिक्षणमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले बनाएका ४२ वटा नियमहरु र अन्र्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०१७ मा संसोधन गरेका नियमहरुको बारेमा प्रकाश पारिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि तथा भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जिल्लामा पहिलोपटक क्रिकेटका प्राविधिकहरु उत्पादन गर्ने योजना अनुरुप महानगरले जिल्ला क्रिकेट संघसँगको सहकार्यमा अघि बढाइएको बताए । खेल प्राविधिकहरुको उत्पादनले मात्रै जुनसुकै खेलको पनि समुचित विकासमा टेवा पुग्ने उनले बताए ।
माघ २६ गतेबाट नमुना मैदानमा भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुदैछ । यस प्रशिक्षणबाट उत्पादित खेल प्राविधिकहरुलाई उक्त प्रतियोगितामा प्रयोग गरिने चितवन जिल्ला क्रिकेट संघले जनाएको छ । रासस