नारायणगढ (चितवन) – विश्व रक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुन प्रसाद मैनालीले २०६ औं पटक रक्तदान गर्नुभएको छ । ब्लड डानर्स सोसाईटी नेपालले आइतबार आयोजना गरेको रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान अन्र्तगत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उहाँले २०६ औं पटक रक्तदान गर्नुभएको हो ।
मैनालीले सन् १९८७ देखि आफुँले लगातार रक्तदान गर्दै आएको बताउनुभयो । उहाँका अनुसार उहाँले विश्वका विभिन्न देशहरुमा १ सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गर्नुभएको छ । उहाँले भन्नुभयो ,“मैले विश्वका ६ वटै महादेशका २० देशहरुमा २०६ पटक रक्तदान गरेको छु । मेरो आफ्नै रगतले मात्रै ६१८ जनाको ज्यान बचाँउन सहयोग हुन्छ ।”
उहाँले सन् १९८६ मा काठमाण्डौमा प्रमाणपत्र अध्ययन गर्दा जो थोमसको ‘द ब्लड डोनर’ कथा पढेपछि रक्तदान गर्न प्रभावित भएको बताउनुभयो । १९ वर्षको हुँदादेखि रगत दान गर्दै आउनुभएका मैनालीले ५६ वर्ष लाग्दै गर्दा २०६ पटक रक्तदान गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “पहिलोपट रक्तदान गरीसकेपछि काठमाण्डौको प्रदर्शनीमार्गस्थित रक्तसञ्चार केन्द्रबाट आफ्नो रगत ओ पोजेटिभ समूह भएको थाहा पाएँ । आजसम्म दान गरेको रगतको परिणाम जोड्दा १०२ लिटर हुन आउँछ ।”
रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमहरुको संयोजन गर्ने विभिन्न संस्थाहरुमा आवद्घ मैनाली हाल अमेरीका बस्दै आउनुभएको छ । मैनालीको जन्स्थान काभ्रेपलान्चोकको सिपाली हो । उहाँले विश्वका विभिन्न देशहरुमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आउनुभएको छ ।रासस