चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा रहेको शुभम फाईबर उधोग मुर्तिकला केन्द्रमा ग्राहकको आकर्षण बढ्दै गएको छ । केन्द्रमा आधुनिक फाईबरका सानादेखि ठुला मूर्तिहरु पाईने भएकाले ग्राहकको आकर्षण बढेको हो ।
बिगत ४ बर्षदेखी भोजाडमा सन्चालित उक्त मुर्तिकला केन्द्रमा गैंडा, हात्ती, मयुर, बाघ भालु, विभिन्न प्रजातिका चरा, भगवानको फोटोहरु, मानव मुर्ती, पार्कका मूर्ति, सालीक लगाएत ग्राहको चाहनाअनुरुप सबै किसिमका मुर्तिहरु पाउन सकिन्छ ।
घाम पानीले खासै असर नगर्ने, देख्दा पनि राम्रो, भरपर्दो र लामो समय टिकाउ हुने भएकाले पछील्लो समय फाईबरका मूर्तिहरु धेरैको रोजाइमा पर्दै आएको शुभम फाईबर मुर्तिकला केन्द्रका संचालक राजु पौडेलले बताए ।
उनले तयार पारेका मूर्तिहरु चितवन मात्रै नभएर देशका विभिन्न जिल्लासँगै बिदेश पनि पुग्ने गरेका छन् । अमेरिका अस्ट्रेलिया, जापान लगाएत मुलुकहरुमा पनि आफुले तयार पारेका मूर्तिहरु पुग्ने गरेको पौडेलको भनाई छ ।
उक्त मूर्तिहरु पर्यटकीयस्थल होटल, पार्क, स्कुल, कलेज, मन्दिरहरुमा बढी मात्रामा बिक्रिबितरण हुने गरेको उनले बताए ।
फाइबरका मूर्तिहरु हलुका र सहज हुने हुँदा ढुवानी गर्न समेत सहज हुने गरेको उनले बताए । उनको स्वरुमा हाल ५ सय देखि ५ लाख सम्मका मूर्तिहरु रहेका छन् ।
उनले उक्त मूर्तिहरु मेला महोत्सवमा पनि लाने गर्छन् । मेला महोत्सवको आकर्षण पनि हुने र आफ्ना मूर्तिहरुको प्रचार प्रसार पनि हुने हुँदा देशका विभिन्न महोत्सवहरुमा मूर्ति प्रदर्शनका लागि लैजाने गरेको उनको भनाई छ ।
उनले मूर्तिबाट परिवारको जीविका चलाउदै ६ जनालाई समेत रोजगारी दिन सफल भएका छन् ।उनको यही व्यवसायलाई केही परिमार्जन गर्ने तर निरन्तरता दिने उनको सोच छ । सानै भएपनी सिपमुलक काम गर्न सकिएमा स्वदेशमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ ।
साथै उक्त केन्द्रमा मूर्तिसँगै वाल आर्ट तथा उच्चस्तरिय पेन्टिङ्लगाएत घर तथा मठ-मन्दिरका लागि स्व पिल्लर र रोल पिल्लरहरुको काम पनि गरिने पौडेलले बताए ।