कुलिनरी आर्ट प्रतियोगितामा इडन गार्डेन माध्यमिक विद्यालय पहिलो

एटुजेड समाचार

चितवन – चितवनको नारायणगढमा रहेको बालकुमारी कलेजले आयोजना गरेको कुलिनरी आर्ट प्रतियोगितामा भरतपुर–१० मा रहेको इडन गार्डेन माध्यमिक विद्यालय (मिलेनियम मोडल कलेज) पहिलो भएको छ ।‡

चितवन र नवलपुरमा होटल व्यवस्थापन पढाइ हुने विभिन्न २५ वटा शैक्षिक संस्थाहरु सहभागी भएको प्रतियोगितामा मिलेनियम मोडल कलेजद्वारा सञ्चालित इडन गार्डेन मावि पहिलो भएको हो ।

माघ १५ दुवै जिल्लाका २५ वटा शैक्षिक संस्थाबीच भएको पहिलो चरणको प्रतियोगिताबाट विद्यालयसहित पाँच वटा शैक्षिक संस्था दोस्रो चरणमा प्रवेश गरेका थिए । आज (बुधबार) भएको फाइनल प्रतियोगितामा अन्य चार वटा शैक्षिक संस्थालाई पछि पार्दै मिलेनियम मोडल कलेजद्वारा सञ्चालित इडन गार्डेन मावि पहिलो हुन सफल भएको कलेजका क्याम्पस प्रमुख ईश्वर पण्डितले जानकारी दिनुभयो ।

कलेजले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्दै राष्ट्रिय परीक्षा बोर्डतर्फ कक्षा ११ र १२ मा होटल व्यवस्थापनसहित विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन लगायतका कार्यक्रम र स्नातकमा त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरु बिएसडब्लु, व्यवस्थापन र शिक्षा शास्त्रका कार्यक्रम पनि सञ्चालन गर्दै आएको पण्डितले बताउनुभयो ।

त्यसैगरी, उक्त कुलिनरी आर्ट प्रतियोगितामा कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पस दोस्रो तथा आयोजक बालकुमारी कलेजका विद्यार्थीहरु तेस्रो भएका आयोजक बालकुमारी क्याम्पसका सहायक प्राध्यापक रोविन शर्माले जानकारी दिनुभयो ।

शर्माकाअनुसार प्रतियोगितामा पहिलो हुने इडन गार्डेन माविले रु १० हजार, दोस्रो हुने मध्यविन्दु बहुमुखी क्याम्पसले रु सात हजार पाँच सय तथा तेस्रो हुने बालकुमारी कलेजले रु ६ हजार नगद पुरस्कारसँगै ट्रफी र मेडल पाउनेछ ।

विजेता शैक्षिक संस्थाका विद्यार्थीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिने शर्माले बताउनुभयो ।
बालकुमारी कलेजले माघ १९ गते शुक्रबारको दिन आयोजना गरेको बृहत् खाना महोत्सवको अवसरमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने शर्माको भनाइ छ ।

कलेज परिसरमा नै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म कलेजले खाना महोत्सवको आयोजना गरेको भन्दै सहभगिताका लागि उहाँले सबैलाई आग्रहसमेत गर्नुभएको छ । नारायणगढमा रहेको बालकुमारी कलेजले पहिलो पटक ‘बालकुमारी कलेज कुलिनरी आर्ट प्रतियोगिता–२०२४’ सञ्चालन गरेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू