मैयाँदेवी स्मृति महिला क्रिकेटमा बागमती र कोशी विजयी

एटुजेड समाचार

भरतपुर –  चितवनमा जारी मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगितामा बागमती र कोशी प्रदेश विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशविरूद्ध ८ विकेटको फराकिलो जित निकालेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा कर्णालीले दिएको ८३ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

बागमतीको जितमा कप्तान सोनी पाख्रिनले नटआउट सर्वाधिक २८ रन बनाइन् । ३० बल खेलेकी सोनीले २ चौका प्रहार गरिन् । ओपनर सेविका यादवले २८ बलमा १४ रन बनाइन् । कर्णालीकी एन्जिला थापाले १ विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली बागमतीको कशिलो बलिङसामु निरीह बन्यो । १५ ओभरमा घटाइएको खेलमा कर्णालीले ७ विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सक्यो । कर्णालीकी ओपनर त्रिसना विश्वकर्माले २२ तथा कप्तान किरण कुवँरले १७ रन जोडे । त्रिसनाले ३५ बलमा ३ चौकाको मद्दतमा २२ तथा कप्तान किरणले २८ बलमा २ चौकाको मद्दतमा १७ रन बनाए ।

आजको दोस्रो खेलमा कोशी प्रदेशले मधेसलार्ई ४ विकेटले हरायो । समूह ए मा रहेको कोशीको यो पहिलो जित हो । कोशी यसअघि पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । मधेसले भने लगातर दुई खेल दुई हार व्यहोरेको छ । मधेस पहिलो खेलमा सुदुरपश्चिमसँग पराजित भएको थियो ।

आज मधेसले दिएको एक सय १४ रनको लक्ष्य कोशीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । कोशीले मधेसविरूद्ध राम्रो सुरूवात गरेको थियो । ओपनरद्वय भवानी कमाती र पूर्णिमा राजवंशीले राम्रो सुरूवात दिएपछि कोशीले जितको आधार तय गरेको थियो ।

यी दुई ओपनरबीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । जसमा भवानीले २४ बलमा व्यक्तिगत २६ रन बनाइन् । आक्रमक ब्याटिङ गरेकी भवानीले ५ चौका प्रहार गरिन् । पूर्णिमा ९ रन बनाएर पभिलियन फर्किइन् । कप्तान बिमला मलहा १३ र प्रिया मलहा १२ रनमा रनआउट भए । मधेसकी मोनिका साहले ३ विकेट लिए पनि हार टार्न सकिनन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान ९ः३० बजे कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १ः३० बजे बागमती र लुम्बिनी प्रदेशबीच हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू