सल्लेरी– सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व संकलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।
निकुञ्जको तथ्यांकअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा रू छ करोड २३ लाख २८ हजार राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा रू छ करोड ९६ लाख ७८ हजार संकलन भएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिएका छन् । उनका अनुसार सङ्ख्यात्मक हिसाबले चालु वर्ष रू ७३ लाख ५० हजारले बढी राजस्व संकलन भएको हो ।
चालु आवको साउनमा रू छ लाख ५६ हजार, भदौमा रू ३३ लाख ९५ हजार, असोजमा रू दुई करोड दश लाख, रू ५४ हजार, कात्तिकमा रू तीन करोड १२ लाख २७ हजार, मङ्सिरमा रू एक करोड एक लाख ४३ हजार र पुसमा रू ३२ लाख एक हजार राजस्व उठेको सूचना अधिकारी मण्डलले जानकारी दिए।
निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका मण्डलका अनुसार सबैभन्दा बढी पर्यापर्यटन शीर्षकबाट रू छ करोड ६६ लाख ७० हजार, वन पैदावार बिक्री वितरण शीर्षकबाट रू ४० लाख ८३ हजार, दण्ड सजायबाट रू २५ लाख संकलन भएको छ । निकुञ्जको प्रमुख राजस्व संकलनको स्रोत नै पर्यापर्यटन रहेको उनको भनाइ थियो ।
चालु आवमा २८ हजार तीन सय ९० जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत रू एक सय, सार्क राष्ट्रका पर्यटकबाट रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट रू तीन हजार राजस्व लिने गरेको छ । एक पटक हेलिकप्टर अवतरण गरेबापत रू तीन हजार अवतरण शुल्क लिने गरिएको छ ।
निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शुल्कसँगै भरिया प्रवेश शुल्क, साहसिक पर्यटन शुल्क (प्याराग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाइट) लगायत शीर्षकमा राजस्व संकलन गर्दै आएको संरक्षण अधिकृत मण्डलले बताए।
सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।
पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् ।
यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए। उनका अनुसार सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।
निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्ख्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलको भनाइ थियो । जसमा मुख्य गरी शेर्पा जातिको मानिसको बसोबास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्र नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे हुन् ।
निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत आव २०७९-८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा एक हजार चार सय ४१ ले वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा २६ हजार नौ सय ४९ जना पर्यटकले भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २८ हजार तीन सय ९० ले निकुञ्ज भ्रमण गरेका छन् ।
साउनमा दुई सय आठ, भदौमा एक हजार तीन सय २४, असोजमा नौ हजार आठ सय दश, कात्तिकमा १३ हजार २५, मङ्सिरमा दुई हजार छ सय ९४ र पुसमा एक हजार तीन सय २९ जना रहेका कार्यालयका सूचना अधिकारी मण्डलले जानकारी दिएका छन्। उनका अनुसार सार्क मुलुकका पर्यटक दुई हजार सात सय १९, अन्य विदेशी मुलुकका २२ हजार ८८ र नेपाली तीन हजार पाँच सय ८३ जना रहेका छन् ।
फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकामा अहिले मुस्किलले पाँच-सात जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । रासस