व्यवसायीका समस्या समाधानको लागि उवासंघ चितवनको पहल

एटुजेड समाचार

भरतपुर –  उद्योग वाणिज्य संघ चितवनले उद्यमी व्यवसायीहरुको वर्तमान समस्या र कर तथा राजश्वसँग सम्बन्धित समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै समस्या समाधानार्थ पहल गर्नका लागि अनुरोध गरेका हुन् । देशको कुल ग्राहस्थ उत्पादनमा ८१ प्रतिशत भन्दा बढि योगदान दिने नीजि क्षेत्रलाई राज्यले लागु गर्ने नीति नियमहरु नीजिक्षेत्र मैत्री नरहंदा राजश्व नीति अस्पष्ट र झन्झटिलो हुँदा व्यवसायी झन् हतोत्साहित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा एउटा व्यवसायीको गल्तिका कारण अन्य सयौं व्यवसायीहरु पनि कारवाहीको भागिदार हुनुपर्ने वातावरण सिर्जना भएको , स्रोतमा ९विक्रेता० समस्या हुँदा क्रेता पनि स्रोतका कारण छानवीनमा पर्ने दण्ड जरिवाना गर्ने कार्य गैह्र व्यवसायीक भएको ठहर गरेको छ । वस्तु तथा सेवा आदान–प्रदाननै नगरी झुट्टा तथा नक्कली कर वीजक जारि गरी कारोवार गर्ने व्यवसायीलाई कारवाही हुनुपर्ने बिषयमा संघको कुनै आपत्ति नरहेको तर प्रक्रियागत रुपमा कारोवार गर्ने व्यवसायीहरु, फुल अडिट भएका व्यवसायीक फर्महरुलाई समेत अनुसन्धानको नाममा बर्षौं पुराना खातापाता र हर हिसाव माग गर्ने कार्यले व्यवसायी हतोत्साहित भएकोले उक्त समस्या यथाशक्य छिटो समाधान गर्न संघले नेउवामहासंघ मार्फत पहल गरेको हो ।

देशमा व्याप्त बेरोजगारी र आर्थिक मन्दीका कारण ठुलो संख्यामा श्रमपलायन भएको अवस्थामा व्यवसायी माथी गरिएको यस किसिमको अव्यवहारिक र अवैज्ञानिक प्रक्रियालाई तुरुन्त बन्द हुने व्यवस्थाको लागि सम्बन्धित निकायमा पहल गर्नको लागीसंघले माग गरेको छ ।

चितवनका केही उद्यमी व्यवसायीहरुलाई अनुसन्धानको नाममा वर्षौ पुराना खाता पाता र बैंक कारोवार माग गरिएको संघमा जानकारी आएकोले सो समस्या समाधानार्थ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ काठमाडौँ गएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

सोही अवसरमा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले कृषि उद्यम केन्द्र मार्फत चितवनमा एक गाँउं एक उत्पादन कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका थिए । संघका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले बैंक ब्याजसँग सम्बन्धित समस्या सम्बोधन गर्नका लागि पहल गर्न अनुरोध गरेका थिए।

ज्ञापन पत्र बुझ्दै नेउवामहासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले तत्कालनै यसको समाधानार्थ सम्बन्धित निकायमा पहल गरिने बताए । साथै उहाँले उद्योग वाणिज्य संघ चितवनले व्यवसायीको जल्दोबल्दो समस्यालाई उजागर गरेकोमा आाभार व्यक्त गरे ।
संघले नेउवामहासंघ पश्चात राजश्व विभागका पदाधिकारीलाई समेत भेटगरि समस्या समाधानको लागि पहल गर्ने कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू