पशुपन्छी औषधि व्यवसायी संघको राष्ट्रिय महाधिवेशन चितवनमा सुरु

एटुजेड समाचार

भरतपुर – नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा मंगलबारदेखि सुरु भएको छ । बुधवारसम्म चल्ने महाधिवेशनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै दाहालले कृषि क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताइन् ।

देशको मेरुदण्ड नै कृषि भएको भन्दै उनले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले सहजीकरण गर्ने बताइन् । पशुपन्छी सम्बन्धि औषधी व्यवसाय दर्ता तथा नवीकरणका लागि परेको नीतिगत समस्या समाधानको लागि पनि सहजीकरण गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

औषधी व्यवस्था विभागको महानिर्देशक नारायण प्रसाद ढकालले व्यवसायीको लागि समयमा तालिम आयोजना गर्न नसक्नु आफुहरुको कमजोरी भएको स्वीकार गर्दै झुटा विवरण दिएर लाइसेन्स लिनेहरुको लाइसेन्स नवीकरण नहुने स्पष्ट पारे । व्यवसायीले एन्टिवायोटिक प्रयोग नगरेको दाबी गर्दै आएपछि किसानसम्म एन्टिवायोटिक पुगिरहेको उनले बताए ।

नेपाल पशुपंक्षी औषधी पैठारी कर्ता संघको अध्यक्ष रेवती रमण निरौलाले पशुपंक्षी व्यवसायीलाई हरेक दुई वर्षमा पुर्नताजगी कोर्षको तालिम दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठले पशुपंक्षी जन्य औषधी भारत र अन्य देशबाट औषधि ल्याइरहेको अवस्थामा कच्चा पदार्थमात्र ल्याएर औषधि व्यवसायी संघले नेपालमै उत्पादन गरेर औषधि विक्रि वितरण गर्नु सराहनीय काम भएको बताए ।

पशु स्वास्थ्य विभागका वरिष्ठ पशु चिकित्सक डा सुजन रानाले नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रमा पशुपंक्षी औषधी व्यवसायीले पशुकल्याण र पशुको हित गर्दै जनस्वास्थ्यमा टेवा पुर्याएको योगदान प्रशंसनिय रहेको बताए । नेपाल पशुपक्षी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाको अध्यक्षता सुरु भएको राष्ट्रिय महाधिवेशन तथा साधारण सभामा देशभरबाट ४८१ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।

भरतपुरको दियालो फुडल्याण्डमा भएको महाधिवेशनमा भोलि बन्दसत्र हुँदै छ । महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक महिला सदस्य, चार खुल्ला सदस्य, सातै प्रदेशबाट एक÷एक जना सदस्य, मनोनीत एक जना सदस्य र निवर्तमान अध्यक्ष पदेन रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति दुईवर्षे कार्यकालका लागि निर्वाचित हुने छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू