नवलपरासी – विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाट नजिकै नारायणी नदीमा फेला परेको छ ।
प्रकृति संरक्क लागी अन्तर्राष्ट्रिय सङ्घ (आईयूसीएन)ले समेत खतरामा परेका प्रजातिहरूको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नेचर गाइड मान चौधरीले शनिवार फेला पारेको जानकारी दिए ।
नेपालमा बैकल गैरी चरा ठुला नदी र तालहरूमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको जलपंक्षी गणनाका पश्चिम सेक्टर संयोजक डीबी चौधरीले बताए ।
जाडो मौसममा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको आँकलन गरिएको चौधरीको भनाई छ । मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्यान्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यति बेला नारायणी नदी र आसपासको क्षेत्रमा आएका हुन्छन् ।
यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा बढी आउने गरेका छन् भने जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरू आउने भएपछि चरा गणना पनि गर्ने गरिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।