गाउँमा छैनन् कोल घुमाउने युवा

एटुजेड समाचार

बैतडी – गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।

बैतडीमा पुस दोस्रो हप्तादेखि माघ, फागुन र चैतसम्म उखु पेल्ने चलन छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा पाँच घण्टा आगोमा पकाएपछि गुड तयार हुन्छ । गुड पकाउने स्थानलाई यहाँ खुदेउडा भन्ने गरिन्छ । दिनभरि समूहिक रूपमा उखु पेलेर रातभरि गुड पकाउँदै खुदेउडामा रमाइलो गर्ने युवाको जमात अचेल मुस्किलले भेटिने गरेका छन् ।

सिगास गाउँपालिका–१ का उखु किसान पार्वती भट्टले कोल पेल्ने युवा नभएकाले गोरु लगाएर दिउँसो एक ताउला उखुको रस निकालेर साँझ नपर्दै खुदेउडा बन्द हुने गरेको बताउनुभयो । उहाँले युवा पलायन भएपछि गुड पकाउने परम्परा जोगाउन महिला किसानले घरायसी उपभोगका लागि मात्रै उखु लगाउन थालेको बताउनुभयो ।

गुड पाक्ने खुदेउडामा अचेल पहिलेको जस्तो रमाइलो छैन । शिक्षक टङ्कप्रसाद भट्टले दिनभरि उखु पेलेर रातभरि खुदेउडामा गुड पकाउँदा देउडा, आइना बातै हालेर रमालो गर्ने परम्परा हराइसकेको बताउनुभयो । गाउँमा रोजगारी छैन । उहाँले स्थानीय सरकारले गुड उत्पादनमा प्रोत्साहन नगर्दा बैतडीका ग्रामीण क्षेत्रमा उखु लगाउने चलनसमेत घट्न थालेको गुनासो गर्नुभयो ।

विगतका वर्षमा ३० ताउला ९गुड पकाउने तामाको भाँडो० मा उखु पेल्दै आउनुभएका बैतडी सिगास गाउँपालिका–१ का ७० वर्षीय लालमनी भट्टले यो वर्ष मुस्किलले पाँच ताउला गुड तयार भएको बताउनुभयो । उहाँले गाउँमा उखु लगाउने र कोल पेल्ने युवा नभएपछि उखु उत्पादन घटेको बताउनुभयो । गाउँमा महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।

आयुर्वेदिक गुण

बैतडीको गुड आयुर्वेदिक औषधीमा प्रयोग हुँदै आएको छ । सदरमुकामस्थित आयुर्वेदिक मेडिकलका सञ्चालक वैद्य भोजराज भट्टले बैतडीको स्थानीय गुड खोज्न मुस्किल हुन थालेको बताउनुभयो । उहाँले तामाको भाँडामा पकाएको बैतडीको गुड शरीरका लागि अमृत समान भएको बताउनुभयो । उहाँले गुड आशव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधीका रूपमा प्रयोग हुने बताउनुभयो ।

उहाँले गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृतिक गुणकारी तìव पाइने भएकाले गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथ रोग, दम रोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुने बताउनुभयो ।

भेलीको प्रयोग बढ्यो

बैतडीको स्थानीय गुड प्रतिकिलो दुईदेखि तीन सय रुपियाँसम्म बिक्री हुने गरे पनि माग अनुसार स्थानीय गुड पाइँदैन । बैतडीमा स्थानीय गुड उत्पादन घटेपछि अहिले तराईका जिल्लामा उत्पादन हुने भेलीको गुडले बजार ओगटेको छ । व्यापारी शेरसिंह भण्डारीले स्थानीय गुड नपाएपछि बाहिरी जिल्ला र भारतीय बजारबाट आएको गुड र चिनी बिक्री गर्दै अइरहेको बताउनुभयो ।

गुड पाइने घरमा अहिले चिनीको उपभोग बढ्दै गइरहेको छ । शिक्षक धनबहादुर ऐरीले गुडको चिया खाने चलन हराइसकेको बताउनुभयो । उहाँले एक केजी गुडको मूल्य दुईदेखि तीन सय रुपियाँ पर्ने भएकाले एक सय रुपियाँ प्रतिकेजीमा पाइने चिनीको प्रयोग बढेको बताउनुभयो । “गाउँमा युवा छैनन् । अधिकांश मानिस बसाइँ सरेर तराई झरिसके । पहाडको आधा जमिन बाँझो छ । यहाँ उखु कसले लगाउने ?” उहाँले भन्नुभयो, “बाध्यताले पहाडमा बसेका किसानलाई कहीँबाट पनि उखु खेतीमा प्रोत्साहन मिल्दैन । उखु पेल्ने कोल किन्न ३० हजार रुपियाँ पर्छ ।

समान्य किसानले उखु पेल्ने कोल किन्न सक्दैनन् । त्यसैले बेरोजगार युवा उखु खेतीभन्दा भारत जान तयार हुन्छन्,” उहाँले भन्नुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू