भरतपुर – चितवनमा महिलाहरुले स्थापना गरेको संस्था स्पन्दन नेपालले आइतबार जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने लोतंतीमा रहेको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ ।
स्पन्दनले आठ वर्षयता जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा र स्टेशनरी वितरण गर्दै आएको छ । तीन कक्षासम्म पढाइ हुने लोतंतीको श्री आधारभूत विद्यालयका ५७ जना विद्यार्थीलाई स्पन्दनले न्यानो कपडा हुडी र सुरुवाल सेट तथा कापी, सिसाकलम, इरेजर लगायतका सामान वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कालिका–१० का वडाध्यक्ष महेन्द्र प्रजाले यस्ता सहयोगी संस्थाहरुको साथ पाए चेपाङ गाउँ र चेपाङ समुदायको विकास हुन समय नलाग्ने बताए । स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले आर्थिक रुपले विपन्न परिवारका बच्चाहरुसंग खुशी साट्न पाएकोमा आफू हर्षित भएको बताए । उनले भनिन् “हामीले हाम्रो व्यक्तिगत खर्च र भान्सामा मितव्ययिता अपनाएर बचत गरेको रकमले सहयोग गरेका हौँ ।“ पहिलो चरणमा न्यानो कपडा र स्टेशनरीका सामान वितरण गरेको जानकारी दिँदै खनालले बच्चाहरुको खाली खुट्टा देखेका कारण यहि जाडो मै जुत्ता लिएर आउने योजना रहेको जानकारी दिइन् ।
स्पन्दन नेपालका शुभेच्छुक तथा समाजसेवी हिरामणी अधिकारीले प्रार्थना गर्ने ओठ भन्दा सेवागर्ने हातहरु नै उत्तम हुने वताउँदै कालिका नगरपालिकाको विकट गाउँमा सहयोग लिएर आएकोमा स्पन्दन नेपालको प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक भिमबहादुर तामाङले यस किसिमको सहयोगले चेपाङ समुदायको उत्थानमा ठूलो भूमिका रहने बताए । स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालको अध्यक्षयतामा भएको कार्यक्रममा स्पन्दन नेपालका कार्यसमिति सदस्यहरु, कालिका–१० का वडाध्यक्ष, विद्यार्थी, अभिभावक शिक्षकशिक्षिका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्पन्दन नेपालकी सचिव बिमला दाहालले गरेकी थिइन् ।