चितवन – चितवनका रेफ्री प्रकाश भुजेल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्रीको सूचीमा परेका छन्। फिफाले सन् २०२४ को लागि जारी गरेको फिफा रेफ्रीको सूचीमा भुजेलसहित नेपालबाट १२ जना परेका छन् ।
अघिल्लो वर्ष पनि नेपालबाट १२ जनाले फिफा रेफ्री प्राप्त गरेका थिए। जसमध्ये ८ जनाले यस वर्ष पनि निरन्तरता पाएका छन्। चारजना भने नयाँ थपिएका छन्। जसमा भुजेल सन् २०२४ का लागि नेपालबाट फिफा सहायक रेफ्रीको सूचीमा परेका हुन्।
सन् २०२४ का लागि नेपालबाट झापाका श्याम दनुवारले फिफा रेफ्री प्राप्त गरेका छन्। उनले फिफा सूचीबाट बाहिरिएका प्रकाशनाथ श्रेष्ठको स्थान लिएका हुन्। सन् २०२४ का लागि फिफा सहायक रेफ्रीमा भुजेलसँगै मेरिना धिमाल र हरिस कार्की पनि परेका छन्।
चितवनका भुजेल र काठमाडौँका कार्कीले सहायक रेफ्रीमा क्रमश: स्वर्गीय विक्रम चौधरी र अमेरिका गएका युनाल मल्लको स्थान लिएका हुन्। महिलातर्फ राधिका शाख्यको स्थानमा एपीएफकी मेरिना धिमालले फिफा सहायक रेफ्री प्राप्त गरेकी हुन् ।
फिफा रेफ्रीमा प्रज्वल क्षेत्री नवीन र महर्जन र कवीन व्यञ्जनकारले यस वर्ष पनि निरन्तरता पाएका छन्। यस्तै महिलातर्फ अन्जना राईले यस वर्ष पनि निरन्तरता पाएकी छन् । सहायक रेफ्रीमा नानीराम थापा माधव खत्री, किशन कनैया यादव र सहदेव श्रेष्ठले निरन्तरता पाएका छन् ।
भुजेल २०६७ सालमा रेफ्री कोर्ष लिएर एन्फा रेफ्री बनेका थिए । २०७१ मा राष्ट्रिय रेफ्री बनेका भुजेल रेफ्रीको यात्रा सुरु गरेको १३ वर्षमा फिफा रेफ्री बनेका हुन् । लामो समयको अथक मेहेनत र लगनशिलताका कारण फिफा रेफ्री प्राप्त गरेको भन्दै भुजेलले खुशी व्यक्त गरे । फिफामा जाने हरेक रेफ्रीको सपना र लक्ष्य हुने भन्दै उनले आफ्नो सपना पुरा भएको बताए ।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले लामो समयपछि चितवनले फिफा रेफ्री पाएको भन्दै खुशी व्यक्त गरे । यो समग्र चितवनकै लागि गर्वको बिषय भएको कार्कीको भनाइ छ ।