‘विरोध व्यवस्थापन गर्न नसक्ने र जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्छ’

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। उनले विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने धारणा राखेका छन्।

शुक्रबार सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि स्थानीय जयशंकर साहको मृत्यु भएपछि पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेले आफ्नो भनाई सार्वजनिक गर्दै दोषीलाई तुरुन्त करबाही गर्न माग गरेका हुन्।

‘ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ।’उनले भनेका छन्,‘लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिदैन। विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ।’

उनले घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउनसरकारसँग माग गरेका छन्।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू