चितवन – प्रधानमन्त्री कप एकदिवसीय छनौट प्रतियोगिताको सेमिफाइनल खेल्ने चितवन जिल्लाको सिनियर पुरुष टिमले नयाँ जर्सी सार्वजनिक गरेको छ । आज भरतपुरस्थित निर्माणाधिन रंगशालाको नमुना मैदानमा चितवन जिल्ला क्रिकेट संघले एक कार्यक्रम गरी जर्सी सार्वजनिक गरेको हो ।
जर्सीको मुख्य प्रायोजकको रुपमा काठमाडौंस्थित प्राइमो सेक्युरिटीज प्रा. लि. र सह-प्रायोजकको रुपमा नारायणगढस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रा. लि. आवद्ध भएका छन । प्राइमोले तीन लाख रुपैयाँमा २ वर्षका लागि चितवन जिल्ला क्रिकेट संघसंग सम्झौता गरेको हो ।
सेन्ट्रल कलेजले १ लाख ५० हजार रुपैयाँमा २ वर्षका लागि सम्झौता गरेको छ ।त्यसबाहेक पनि सेन्ट्रल कलेजले संघको कार्यालय संचालनका आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर लगायतका सामग्री सहयोग गर्ने कलेजका प्रिन्सिपल वाइबी पौडेलले बताए ।
प्राइमो सेक्युरिटीज नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त शेयर कारोबार गर्ने संस्था हो भने सेन्ट्रल कलेज जापान, अष्ट्रेलिया, न्युजील्याण्ड, युरोप लगायतका मुलुकमा विद्यार्थीहरुलाई अध्ययनका लागि शैक्षिक परामर्श दिदै आएको संस्था हो ।
सम्झौतापश्चात अब चितवन जिल्लाको क्रिकेट टिमले खेल्ने हरेक खेलमा प्राइमो सेक्युरिटीज र सेन्ट्रल कलेजको लोगोअंकित जर्सीको प्रयोग गर्नेछ ।यस्तै प्रभु बैंक लि. ले पनि १ वर्षका लागि ५० हजार रुपैयाँको प्रायोजन गर्ने सम्झौता गरेको छ ।
हरेक जिल्लाले क्रिकेट गतिविधि निरन्तर गराउन यस्ता किसिमका प्रायोजकको व्यवस्था गर्दै आन्तरिक श्रोत व्यवस्थापन गर्न आवश्यक रहेको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बताए ।
बागमती प्रदेश अन्तर्गतको छनौटको समुह बीमा रहेको चितवनले अन्तिम खेलमा नुवाकोटलाई ६ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । चितवन समुह विजेता बन्दा नुवाकोट उप-विजेता भयो । छनौट प्रतियोगिताका सेमिफाइनल र फाइनल खेलहरु भने मुलपानी मैदानमा हुने बागमती प्रदेश क्रिकेट संघको तालिका रहेको छ ।