चितवन – उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशन संघारमै आइपुग्दा संघको अध्यक्ष पदका उम्मेदवार सुमनकुमार श्रेष्ठले चितवनका व्यवसायीलाई आफू सक्षम व्यावसायिक नेतृत्व छान्ने मौका आएको बताएका छन्।
व्यवसायीलाई समस्या पर्दा जस्तोसुकै अवस्थामा पनि उपस्थित हुने र समस्या समाधानमा लाग्दै आएका श्रेष्ठ आफैँ अध्यक्ष पदका उम्मेदवार भएको हुँदा व्यवसायीहरुका लागि असल नेतृत्व छान्ने सुनौलो अवसर भएको बताएका हुन्।
विगत १८ वर्षदेखि उद्योग वाणिज्य संघमा आवद्ध हुँदै व्यावसायिक हकहित, संरक्षण र सम्वर्द्वनको लागि मरिमेट्दै आएको उनको भनाइ छ। ‘संघको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनले नेतृत्व चयनको लागि पनि विशेष अर्थ राख्नेछ,’ उनले भने, ‘किनकि यही अधिवेशनले व्यवसायीहरुको हकहित र संरक्षणको लागि ठोस निर्णय गर्नेछ।
उद्योगी व्यवसायीको लागि संघले गर्नुपर्ने कामलाई प्राथमिकतामा राख्दै आएको आधारमा पनि यसपटकको नेतृत्व सम्हाल्ने योजना बनाएको उनको भनाइ छ। सरकारको विभिन्न निकायसँग सहकार्य गरेर पारदर्शी तथा सुशासनयुक्त कार्यमा आफू जुनसुकै कोणबाट उभिन पनि तयार रहेको श्रेष्ठले बताए।
बजारमा सडक किनारको फुटपाथ पैदल यात्रीका लागि निर्माण गरिएको हुँदा फुटपाथमा हुने व्यापारी गतिविधिलाई वैकल्पिक व्यवस्था गर्न स्थानीय सरकारसँग पहल गर्ने बताए। ‘पछिल्लो समय देखिएको अव्यवस्थित सवारी पार्किङलाई सहज बनाउनु पनि संघको कर्तव्य हुन आउँछ,’ उनले भने, ‘आर्थिक मन्दिका कारण चरम संकटमा परेका व्यवसायीलाई संरक्षण गर्नको लागि सरकारी क्षेत्रसँग व्यवसाय कर घटाउन र बजारमा रहेका सबै व्यवसायलाई करको दायरामा ल्याउने अभियानमा हिजो पनि थिएँ। आज पनि छु। र, भोलि पनि हुनेछु।’