उद्योगमा युवाहरुको सहभागीताका लागि मेरो उम्मेदवारी : लामिछाने
चितवन – उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्यमा युवा उम्मेदवार महेश लामिछानेले उम्मेदवारी दिनुभएको छ । पुष २३ गते हुने संघको ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा लामिछानेले उद्योगतर्फ खुला सदस्यमा उम्मेदवारी दिएका हुन् ।
शिक्षा क्षेत्रका युवा उम्मेदवार लामिछाने डेढ दशकदेखि शैक्षिक तथा व्यवसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । भरतपुर-१० सप्तगण्डकीचोकका स्थायी बासिन्दा ३५ वर्षीय लामिछानेले ‘राष्ट्रको आवश्यकता, उद्योगमा युवा सहभागीता’ भन्ने नारासहित आफूले उद्योगतर्फ सदस्य पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
अहिलेको बिषम परिस्थिमा उद्योगी व्यवसायीहरुको समस्या सम्बोधन तथा समाधानको मार्ग खोज्नका लागि आफू उम्मेदवार बनेको उहाँको भनाइ छ । आफू युवा भएको र युवा उद्योगीहरुको पिर मर्का नजिकबाट नियालेको भन्दै त्यस्ता समस्या समाधानमा केन्द्रित हुने लामिछानेको प्रतिवद्धता छ । ‘म आफू स्वयं पनि युवा अवस्थाबाट नै यस क्षेत्रमा लागेको हुँ । युवा तथा समग्र उद्योगी व्यवसायीहरुको समस्यालाई मैले नजिकबाट नियालेको छु । ती समस्या समाधानको बाटो खोज्न म प्रतिवद्ध हुनेछ’, लामिछानेले भन्नुभयो ।
युवाहरु विदेशिने क्रम रहेकोले उनीहरुलाई देशमै उद्योग व्यवसाय गर्ने वातारणमा बनाउन पहल गर्ने उहाँको भनाइ छ । लामिछानेले उद्योगमा युवाहरुको सहभागीता अहिलेको आवश्यकता रहेको भन्दै आफूलाई मत दिएर जिताउन चितवनका सम्पूर्ण उद्योगीहरुलाई आग्रह गर्नुभयो ।भरतपुरमा रहेको द जिएमआईका प्रिन्सिपल लामिछाने गोल्डेन गेट होस्टेल, एम एस पुस्तक एण्ड स्टेसनरी, गुड लाइफ होम केयर नेपाल, न्यू गंगा काष्ठ तथा फर्निचर उद्योग, सहि हो इभेन्टस् एण्ड इन्टरटेनमेन्टका सञ्चालक समेत हुनुहुन्छ ।विभिन्न शैक्षिक एवं व्यवसायिक संस्थाका सञ्चालक लामिछानेले हाल बालकुमारी कलेज, नारायणी बहुप्राविधिक शिक्षालय, अर्किड कलेज र ग्रीनल्याण्ड पब्लिक कलेजमा भौतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ । पुष २३ गते हुने संघको अधिवेशनमा कार्य समिति सदस्यका लागि उद्योग तर्फ १२ जना उम्मेदवार छन् ।
तपाइँको प्रतिक्रिया