चितवन – होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका बीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गरेका हुन् । पुस १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको छ ।
फुड फेस्टिबलको समापन कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष चुकेले नियमित रुपमा फुड फेस्टिबल आयोजना गर्न होटल व्यवसायी संघ चितवनलाई आग्रह गरे । ग्राहकलाई खाना खुवाउने व्यवसायीले नै बेला बखत फुड फेस्टिबल गर्नु राम्रो भएको भन्दै उनले संघले गरेको पहिलो प्रयास नै सफल भएको बताए । टिकट किनेरै फुड फेस्टिबलमा पुग्ने दर्शकको संख्या उल्लेख्य देखेको भन्दै उनले यसले व्यवसायीबीच आत्मियता पनि बढाएको बताए ।
उनले देशभरका करिब ८० हजार होटल तथा रेष्टुरेन्ट महासंघमा आबद्ध रहेको जानकारी दिए । आठ लाख भन्दा बढीलाई रोजगारी दिएको होटल व्यवसायमा तीन खर्बको लगानी रहेको उनले बताए । ‘नेपालको आन्तरिक तथा बाह्य पर्यटनलाई होटल व्यवसाय क्षेत्रले सघाएको छ । गुणस्तरीय सेवा प्रदान गराउनका लागि होटल व्यवसायीको आचारसंहिता पनि लागु भएको छ’, उनले भने ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले पहिलो पटक आयोजना गरिएको फुड फेस्टिबल सफल भएकोमा खुसी लागेको बताए । फुड फेस्टिबल सञ्चालनका क्रममा भएको कमि कमजोरी आगामी दिनमा हुन नदिने उनले प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जन, वडा नं २ का अध्यक्ष मनोज रानाभाट लगायत सहभागी थिए ।
होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष जनक पौडेलको संयोजकत्वमा भएको फुड फेस्टिबलमा ३९ वटा स्टल थिए । फुड फेस्टिबलको लागि विभिन्न उपसमिति गठन गरिएको थियो । फुड फेस्टिबलमा पुस १५ र १६ गते टिकटको व्यवस्था गरिएको छ । फुड फेस्टिबलमा भएको आर्थिक कारोबार र खर्चको हिसावकिताब केहि दिनमा सार्वजनिक गरिने संघका सचिव कृष्ण महतोले जानकारी दिए । त्यसका लागि संघको कार्यसमितिको बैठक बस्दै छ ।