देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूकाे नियन्त्रणमा पर्‍याे : गगन थापा

एटुजेड समाचार

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताउनुभएको छ ।

आज बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताउनुभएको हो । उहाँले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भएको उल्लेख गर्नुभयाे । यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अरू देशहरूका बारेमा आफूलाई जानकारी नभएको महामन्त्री थापाकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले संविधान बनायाैँ । देश ट्र्याकमा आएको छ । लगातार एकपछि अर्को आवधिक चुनाव हुन थालेको छ । हाम्रा संस्थाहरू बनेका छन् । बिस्तारै ती संस्थाहरूलाई बलियो बनाउने प्रयास भइरहेको छ । तर नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भनेको देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूकाे नियन्त्रणमा परेकाे छ । नेपालको राजनीति नै उहाँहरूको नियन्त्रणमा भएको जस्तो । झगडा गरे पनि उहाँहरू । मिले पनि उहाँहरू । यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन ।’

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास शुरु भएको पनि उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टीको संसदीय दलको चुनावमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताउनुभयो । उहाँले पुराना नेतृत्वसँगको प्रतिस्पर्धार गरेर नथाकेको भन्दै निरन्तर प्रतिस्पर्धा गर्ने सङ्केत गर्नुभयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू