काठमाडौं – नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई स्थानीय तहको मातहतमा नराख्ने गरी संविधान संशोधन गर्न माग गरेको छ । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई स्थानीय तह मातहतमा नराख्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएको हो ।
बैठकमा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षकहरूलाई स्थानीय तह मातहत राखेर कारबाही गर्नेसम्मको अधिकार दिँदा आग्रह, पूर्वाग्रहका साथ कारबाही गरिने गरेको बताइन् ।
उनले स्थानीय तहहरूका कारण शिक्षक पीडित हुने अवस्था रहेको बताइन् । उनले स्थानीय तह मातहतमा शिक्षकहरू बस्न नमानेको अवस्थामा आवश्यक परेमा संविधान संशोधन नै गर्नुपर्ने धारणा राखिन् ।
शिक्षकलाई प्रदेश अथवा शिक्षा विभागको मातहतमा राखे राम्रो हुने उनको धारणा छ ।
ट्रेड युनियन अधिकारलाई कटौती नगर्न उनको माग छ । उनले शिक्षकका संघ÷संगठनहरुलाई खारेज गर्न नहुने बताइन् ।
महासंघले शिक्षक–कर्मचारीको रजिस्ट्रेसन, तालिम र पेसागत विकासमा काम गर्न एउटा शिक्षण काउन्सिल बनाउन समेत माग गरेको छ ।
महासंघले स्थानीय तहले शिक्षकको सेवा, सुविधाको ग्यारेन्टी गर्न नसक्ने बताएको छ । स्थानीय तहले संघीय र प्रदेश कानुन विपरीत कानुन बनाउन नपाउने प्रावधान राख्नुपर्ने पनि महासंघको सुझाव छ ।