मुम्बई – सन् २०२३ भारतीय सिनेमा मनोरञ्जनको संसारमा निकै विशेष रह्यो । बलिउडदेखि साउथ इन्डियन सम्मका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । कतिपय चलचित्रले कमाईको हिसाबले रेकर्ड समेत बनाएका छन् ।
सन् २०२३ को सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ होस् वा ‘गदर–२’, ‘जवान’, एनिमल र सालारजस्ता धेरै फिल्मले धुम मच्चाउन सफल भए । शाहरुख खानका लागि भने त विगतको वर्ष निकै नै विशेष रह्यो । उनले तीनवटा फिल्म ल्याए, जसमध्ये दुई ब्लकबस्टर र एउटा हिट भयो। शाहरुख खानका फिल्म ‘पठान’ र ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममा दरिन पुगे ।
तर २०२३ को अन्त्य, रणवीर कपूरको फिल्म एनिमलले शाहरुख खानको एक फिल्मको रेकर्ड तोड्यो र गत वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्न् पुगेको छ ।सैनलिंकका अनुसार शाहरुख खानको फिल्म पठानले भारतीय बक्स अफिसमा कुल ५४०.५१ करोडको व्यापार गरेको थियो । जसलाई ३१औँ दिन रणवीर कपुरको एनिमलले तोडेको छ ।
फिल्म एनिमलले ३१औँ दिन बक्स अफिसमा ४ करोड कमाएको छ । यसपछि एनिमलको भारतमा कुल बक्स अफिस कलेक्सन ५४४.९३ करोड पुगेको छ ।फिल्म एनिमलले बक्स अफिसमा दर्शकको निकै माया पाइरहेको छ । यस फिल्ममा रणवीर कपूर, बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए।
फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् । फिल्ममा बबी देओल र रणवीर कपुरको भूमिकाले निकै चर्चा कमाएको छ ।