बालकुमारी घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्दै सरकार

एटुजेड समाचार

काठमाडौं – सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।सोमबार (भोलि) बस्ने मन्त्रिपरिषद्को बैठकबाट आयोग गठनको निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

“जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “भोलि मिति २०८०÷९÷१६ मा बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ ।”

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसितको झडपमा दुई युवकको मृत्यु भएको थियो । त्यसअघि, प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । आगजनीअघि सुरक्षाकर्मीले मन्त्री ज्वालालाई गाडीबाट ओरालेर सुरक्षित स्थानमा पुर्‍याइएको थियो ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू