बागलुङ– नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ ।
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन ।
अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाँग्ने काम भइरहेको छ । तमानखोलामा पनि गत वर्षदेखि नै पोल गाड्न थालिए पनि अहिलेसम्म बिजुली बलेको छैन ।
अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ । निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम तीव्र गतिमा भइरहेको छ ।
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका पालिकाहरूमा केही वर्ष अगाडिनै केन्द्रीय लाइन पुगे पनि पश्चिम बागलुङका धेरै पालिकामा पुग्न सकेको थिएन ।
विद्युत् प्राधिकरणले गत वर्षदेखि नै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ । गाउँगाउँम विद्युत विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।
नेपाल विद्युत प्राधिकरणले यस वर्ष निसीखोला,तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम गरि रहेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छ भने बुर्तिबाङमा पनि १३२ किलोभोल्टको सबस्टेशन निर्माण भइरहको छ ।
यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्याउने गरी काम भइरहको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख पवन पौडेलले बताए ।
आगामी एक महिना भित्रमा बत्ती बाल्ने गरी काम भइरहेको उनले बताए । ढोरपाटन उपत्यका,निसीखोलाको देवीस्थान र तमानखोलाकोबोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन सञ्चालन हुने उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको १४ करोडबाट प्रसारण लाइन विस्तार गरिएको हो ।