चितवन – नारायणगढको क्याम्पाचौरमा ‘रैथाने फुड फेस्टिवल तथा बृहत सास्किृतिक कार्यक्रम २०८०’ हुने भएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा यही पौष १४ देखि १८ गतेसम्म रैथाने फुड फेस्टिवल तथा बृहत सास्किृतिक कार्यक्रम हुने भएको हो ।
आज (विहिबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै रैथाने खानेकुराको संरक्षण, पर्यटन तथा होटल व्यवसायको प्रबर्द्धनमा टेवा पुयाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्ष २०२४ हाल स्थगन भए पनि भरतपुरसहित चितवन जिल्लाकै पर्यटन प्रवर्द्धनमा फुड फेस्टिवलले योगदान पुर्याउने विश्वास गरिएको आयोजकको भनाई छ ।
फेस्टिवलमा विभिन्न किसिमका ३९ वटा रैथाने खानाको स्टलहरु रहने छन् । जसमा टिपिकल थारु खाना, नेवारी खाना, शुद्ध नेपाली खाना, थकाली खाना, साहाकारी भोजनालय, चितवनको तास, स्पेशल लोकल कुखुराको सेकुवा, लोकल माछाका परिकारहरु रहने छन् ।
त्यसको साथै मुख्य आकर्षकको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने छ । फुड फेस्टिवलको पहिलो दिन पुष १४ गते पशुपती शर्मा, प्रिति आले, सागर लम्साल (बले) लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।


यसैगरी पुस १५ गते स्वप्न सुमनको साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने १६ गते द स्याडोज नेपालको प्रस्तुती रहने छ । पुस १७ गते सुबोध गौतम (एकदुमे), तारा थापा, प्रजापती पराजुली सहित स्थानीय कलाकारको प्रस्तुती रहने छ ।
यसैगरी अन्तिम दिन पुस १८ गते अनु चौधरी, कर्णराज गिरी, ढाकाराम पौडेल, भुवन प्यासी, बाल कलाकारसुप्रिम मल्ल लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम तय भएको कार्यक्रमका मुल संयोजक लोकनाथ भट्टले बताए ।
यसै गरि प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि फेस्टिवल परिसरमा फ्रि वाईफाई र निशुल्क पार्किङ्गको व्यवस्था गरिएको छ । फुडफेस्टिवलका गर्नका लागि करिब ५० लाख खर्च हुने अनुमान गरिएको उनको भनाई छ ।
यस फुडफेस्टिवलमा पुस १५ र १६ गतेको लागि प्रवेश शुल्क रु ३०० तोकिएको छ भने अन्य दिनमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । फुडफेस्टिवल दिउँसोको ४ बजे बाट राती १० बजे सम्म हुने उनले बताए ।
नयाँ बर्षको दिन भने राती १२ बजे सम्म कार्यक्रम हुने छ । फुडफेस्टिवलमा ५० हजार अवलोकनकर्ताको सहभगिता रहने छ भने ५ दिनको अवधिमा करिब ५ करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ ।