वीरेन्द्र क्याम्पसमा अनेरास्ववियुको लफडा : समानान्तर दुई कमिटी गठन

एटुजेड समाचार

चितवन – अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको क्याम्पस सम्मेलनमा लफडा भएको छ ।

क्याम्पस सम्मेलन अर्थात् अधिवेशनको खुल्ला सत्र सफलता पूर्वक समापन गरी बन्द सत्र सुरु गर्ने बेलामा क्याम्पसमा लफडा सुरु भएको हो ।
बन्द सत्रमा केन्द्रीय उपाध्यक्ष धर्म गिरीले क्याम्पसमा आफू निकटका विद्यार्थीलाई कमिटीको पदाधिकारीमा ल्याउने गरी देव पाठकको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल बनाउन हस्तक्षेप गरेको भनि लफडा सुरु भएको हो ।

क्याम्पससम्मै गुटबन्दी गर्ने गरीे त्यसैअनुसार अध्यक्ष मण्डल घोषणा गरेको भनि त्यसको विरोधमा ब्यानर च्यात्ने, माइक फाल्ने र हानाहान हुने स्थिति समेत सृजना भयो । लफडामा अ‍ेनरास्ववियुका जिल्ला कमिटी सचिव अमित आचार्यको खुट्टामा चोट लागेको छ भने बागमती प्रदेश कमिटी सदस्य अम्बिका आचार्यको हातमा चोट लागेको छ ।

हुलदंगा साम्य भएपछि देव पाठकको नेतृत्वमा बसेको त्यही ७ सदस्यीय अध्यक्ष मण्डलको बैठकले कमिटीका उपाध्यक्ष सन्दिप अधिकारीलाई संयोजक र कमिटीका सचिव सौगात बस्याललाई सह–संयोजक बनाएर अधिवेशनको मिति सार्ने निर्णय गर्यो । त्यसपछि अध्यक्ष मण्डलका केही नेता सहित अन्य विद्यार्थीहरु नेताहरु क्याम्पसबाट बाहिरिए । त्यसपछि विद्यार्थीहरुको मास पनि बाहिरियो ।

उक्त अध्यक्ष मण्डलको बैठकको निर्णय विपरित केन्द्रका उपाध्यक्ष धर्म गिरी, देव पाठकको नेतृत्वले सौगात बस्यालको अध्यक्षतामा कमिटी घोषणा गर्यो । आफू निकटका १०/१५ जना विद्यार्थी जम्मा गरी गुटबन्दी शैलीमा आफू निकटका विद्यार्थीलाई पदाधिकारी बनाएको भन्दै सन्दिप अधिकारीको नेतृत्वमा अर्काे कमिटी बनेको छ ।

सन्दिप अधिकारीले केन्द्रीय उपाध्यक्ष धर्म गिरी, क्याम्पस कमिटी अध्यक्ष सुदिप पौडेल र वीरेन्द्र क्याम्पसका केही पूर्व अध्यक्षहरुले आफू निकटको गुटबन्दी क्याम्पसमा बनाउन हस्तक्षेप गरेको बताए ।

उनले आफ्नो पक्षमा क्याम्पसका अधिकांश सक्रिय नेता र अधिकांश विद्यार्थीहरु देखिएपछि जानाजान लफडा गराइ विद्यार्थीहरुको भिडलाई तितरवितर पारेर एकलौटी शैलीमा केन्द्रीय उपाध्यक्ष धर्म गिरीसहितको टोलीले किर्ते शैलीमा आफू निकटको कमिटी गठन गरेको आरोप लगाए ।

अनेरास्ववियुको जिल्ला नेतृत्व, प्रदेश नेतृत्व र केन्द्रको नेतृत्व चयन गर्न क्याम्पसबाट पनि प्रतिनिधि लैजाने गरिन्छ । सहमति नभए ती प्रनिनिधिले मतदानमार्फत नेतृत्व चयन गर्ने गर्छन् । त्यही कारणले क्याम्पससम्मै गुटबन्दी छिराउने गलत प्रवृत्ति फैलिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू