चितवन – युनाइटेड टेक्निकल कलेज (युटेक) भरतपुरमा दुई दिने ‘टेक फ्युजन’ कार्यक्रम हुने भएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा युनाइटेड टेक क्लबले सूचना प्रविधिका विभिन्न विधामा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
यसअघि ‘यु टेक ह्याकाथन अल्फा’ कार्यक्रम आयोजना गरिसकेको क्लबले अहिले भने क्याप्चर द फ्ल्याग (सीटीएफ), रोबो फुटबल र प्रोजेक्ट प्रदर्शनी लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गराउने छ । प्रतियोगिता पुस ११ र १२ गते भरतपुर ११ स्थित युनाइटेड टेक्निकल कलेजमा हुनेछ ।
कार्यक्रममा यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, ग्रामीण विकास, वैकल्पिक ऊर्जा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन, वित्तीय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्र समेटिनेछ । ती विषयमा सहभागीले आफ्नो विवेक, रचना तथा शैक्षिक संस्थाबाट सिकेका ज्ञानलाई प्रयोग गरी वास्तविक समस्याहरूको समाधानमा प्रोजेक्ट तयार पार्ने सक्ने छन् । कलेजको इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागीय प्रमुख ई. साहित बरालका अनुसार जुनसुकै विषयका विद्यार्थी तथा उनीहरूको समूहले यो प्रतियोगितामा आफ्नो रचना देखाउन पाउने छन् ।
युनाइटेड टेक फ्युजन विज्ञान तथा प्रविधि विभागका विद्यार्थीका लागि उपयोगी हुने क्लबका अध्यक्ष विवेक पौडेलको भनाई छ । “यसले विद्यार्थी सशक्तीकरणको प्रवर्द्धन गर्न, सहकार्यलाई बढावा दिन र इन्जिनियरिङ क्षेत्रका नयाँ पुस्तालाई प्रेरित गर्ने हाम्रो विश्वास छ,” पौडेलले भने ।
टेक फ्युजनबाट रोबोट र प्रविधिमा रुचि भएका विद्यार्थीलाई ठूलो सिकाइ हुनुका साथै अन्य ज्ञानमूलक विषय बुझ्न पाउने उनको भनाइ छ ।