बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा फड्को : १० अस्पतालको स्तरोन्नति, १६६९ कर्मचारीको संगठन संरचना स्वीकृत

एटुजेड समाचार

चितवन –   बागमती प्रदेश अन्तर्गतका १० अस्पतालको स्तरोन्नति हुने भएको छ । प्रदेश सरकारको पौष ३ गते बसेको मन्त्रिपरिषद बैठकले १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जानकारी दिनुभयो । यस्तै रत्ननगर बकुलहर अस्पताल चितवन, धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट र सिन्धुली अस्पताल सिन्धुलीलाई १०० बेडमा स्तरोन्नती गरिने मन्त्री जोशीले बताउनुभयो ।

सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०र५० बेडमा स्तरोन्नती हुने भएका छन् । स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत पनि गरेको छ ।

सरकारको यो निर्णयले प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने मन्त्री जोशीको भनाइ छ । लामो समयदेखि यि अस्पतालहरुको स्तरोन्नति हुन सकेको थिएन । जोशीले स्वास्थ्य मन्त्री नियुक्त भएदेखि नै स्तरोन्नतिका लागि पहल गर्दै आउनुभएको थियो ।

मन्त्री जोशीले प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना कर्मचारीहरूको संगठन संरचना स्विकृत हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । यसका लागि पनि मन्त्री जोशीले निरन्तर पहल गर्दै आउनुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू