सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती
गलेश्वर– म्याग्दीको मालिका गाउँपालिका-२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याएकी छन् । विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्नो करिब पाँच रोपनी बारीमा कोदो रोपेका थिए । गत वर्ष तीन मुरी कोदो भित्र्याएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग भए ।
त्यसैगरी, मालिका गाउँपालिका-१ निस्कोटका मनवीर सुनरले पनि विगतका वर्षमा भन्दा तीन मुरी बढी कोदो घरमा भित्र्याएको बताइन् । विगतका वर्षहरुमा मुस्किलले दुई मुरी कोदो उत्पादन हुने गरेकामा यस वर्ष पाँच मुरी बढी कोदो घरमा हुल्न पाउँदा उनी खुशी भएकी छन् ।
पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । कोदोको परिकारप्रति सहरिया मानिस र पर्यटकको आकर्षण बढ्न थालेपछि किसान कोदो खेतीमा आकर्षित भएका हुन् ।
हिमाली जिल्लाका रूपमा रहेको म्याग्दीमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ । विशेषगरी पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका कोदो खेतीका लागि उपयुक्त मानिन्छ ।
बिस्तारै कोदोको माग बढ्दै गएपछि वर्षौँदेखि बाँझो छोडेको जग्गामा खनजोत गरी कोदो खेती थालेपछि कोदोको उत्पादन बढ्दै गएको निस्कोटका कृषक खिरा विश्वकर्माले बताइन् । केही वर्षअघि सम्म घरअगाडिको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देवीस्थान, ओखरबोट, डाँडागाउँलगायत धेरै गाउँमा गत वर्षदेखि कोदो खेती विस्तार गरिएको छ ।
पश्चिम म्याग्दीका बासिन्दाले अरू खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।रासस
तपाइँको प्रतिक्रिया