ग्रीनल्याण्ड स्कुलमा पहिलो पिबिएल मेला सम्पन्न

एटुजेड समाचार

चितवन – भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल मेला सम्पन्न भएको छ । मेला आज स्कुल प्राङगढ मा सम्पन्न भएको हो ।

चितवनमै पहिलो पटक आयोजित मेलाको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पौडेलले ग्रीनल्याण्डले चितवनमै पहिलो पटक आयोजना गरेको पिबिएल मेलाले शैक्षिक गुणस्तार वृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले यस किसिमका कार्यक्रम सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सिको गर्न आवश्यक रहेको औंल्याउनुभयो । यस्तै ग्रीनल्याण्डले हरेक मंगलबार गर्दै आएको बुक फ्री डेलाई शुक्रबार सार्न समेत आग्रह गर्नुभयो । उहाँले सबै विद्यालय बुक फ्री डे बारे महानगरले पनि योजना बनाएको जानकारी गराउनुभयो । कार्यक्रममा उपस्थित वडाध्यक्ष तथा अतिथिहरुले पनि पिबिएल मेला शिक्षामा नविनतम प्रयास भएको भन्दै प्रसंसा गरेका थिए ।

कार्यक्रममा यस किसिमको मेलाको सुरुवात गर्ने गोल्डेन गेट कलेजका फाउण्डर तथा प्राचार्य सिंगा लामा पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले शिक्षामा यस्ता कार्यक्रमले क्रान्ति ल्याउन मद्त मिल्ने बताउनुभयो ।

मेलामा विद्यार्थीहरुले प्रोजेक्ट बेस्ड लर्निङ (परियोजनामा आधारित सिकाई) का क्रममा तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरेका थिए । ८४ वटा चुनिएका प्रोजेक्टहरु प्रदर्शनीमा राखेर विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गरेको विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले बताउनुभयो ।

मेलामा विद्यार्थीहरुले तयार परेका चिया, बिभिन्न परिकारका खाजा, बाटेको धुप बिक्री वितरण गरेका थिए । यस्तै विद्यार्थीहरुले मेलाका आगन्तुकहरुको ब्लड ग्रुपिङ, रोबोटिक, जलविद्युत, रेन डिटेक्टरलगायत पनि प्रस्तुत गरेका थिए ।

 

गत जेष्ठयता विद्यालयले चलाएको परियोजनामा आधारित सिकाई अन्तर्गत विद्यार्थीहरुले बिभिन्न सिप सिकेका छन् । शिक्षालाई जीवनसँग जोड्न विद्यालयमा हरेक मंगलबार बुक फ्री डे हुँदै आएको छ ।

स्कुलले अमेरिकन मनोवैज्ञानीक होवार्ड गार्नकको मल्टिपल इन्टेलिजेन्स सिद्धान्तमा आधारित रही विद्यार्थीहरुको क्षमता पहिचानमा जोड दिदै आएको प्राचार्य पन्तको भनाइ छ । स्कुलले जीवनोपयोगी र व्यवहारिक शिक्षामा जोड दिँदै आएको उहाँले बताउनुभयो ।

यसले सिकाईलाई व्यवहारिक जीवनसँग जोडेर विद्यार्थीहरुलाई अनुभव बटुल्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । यो कार्यक्रम शिक्षामा क्रान्तिको रुपमा लिईएको समेत उहाँको भनाइ छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू