भिजिट भरतपुर २०२४ क्वाड्राङ्गुलर टि-ट्वान्टी उद्घाटनको दिन चितवन र नवलपुरको विजयी सुरुआत

एटुजेड समाचार

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आजबाट सुरु भएको ‘भिजिट भरतपुर २०२४ क्वाड्राङ्गुलर टि-ट्वान्टी सिरिजको उद्घाटन खेलमा चितवन र नवलपुरले विजयी सुरुआत गरेका छन् । पर्साविरुद्ध चितवनले ४३ रनको जित निकाल्दा नवलपुरले मकवानपुरलाई २२ रनले हराएको हो ।
आज भएको पहिलो खेलमा चितवनले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको पर्सा निर्धारित २ ओभरको खेल बाँकी छदा ८२ रनमा अलआउट हुन पुग्यो ।

पर्साको पारी ध्वस्त बनाउने क्रममा चितवनका दिवस आचार्यले ४ ओभर बलिङ्ग गर्दै १३ रन खर्चिएर ३ विकेट लिए । दानिस इकबाल, क्रिजन गुरुङ्ग र नरेश प्रधानले समान २ विकेट लिदा दिपेश श्रेष्ठको नाममा १ विकेट रह्यो । ब्याटिङ्गमा पर्साका लागि सांसद मन्सुरीले सर्वाधिक २८ रन बनाए भने सांसद अन्सारीले २५ रन जोडे । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन एक अंकमा नै सिमित रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २५ रनको योगफल तयार पारेको थियो । चितवनका लागि ओपनर बिकल गुप्ताले अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ५३ रन बनाए । उनी १९ औं ओभरको दोस्रो बलमा साजाफुल हवारीद्वारा सैफुल्लाह अन्सारीबाट समातिए । बलिङ्गमा सेराफुल हवारीले ३, सैफुल्लाह अन्सारीले २ तथा एफाज मन्सुरी, सांसद मन्सुरी, नसुरिदिन अन्सारी र सांसद अन्सारीले समान एक विकेट लिए । अर्धशतक प्रहार गरेका चितवनका बिकल गुप्ता खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै आजको दोस्रो खेलमा नवलपुरले मकवानपुरमाथी जित निकाल्यो । टस जितेर पहिला ब्याटिङ रोजेको नवलपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनायो । नवलपुरका लागि कमल परियारले सर्वाधिक २७ रन बनाए । १९ बल खेलेका उनले ३ छक्का प्रहार गरे ।
यस्तै, गोविन्द बिकले २३ र रिजन काफ्लेले २१ रन बनाए । बलिङ्गतर्फ मकवानपुरका रिजन ढकाल एक्लैले ४ विकेट लिएपनी जितका लागि पर्याप्त भएन । यस्तै समीर चौलागाईं, सुभ कंसकार, साकार गजुरेल र सुवर्ण भट्टले समान १ विकेट लिए ।
१ सय १८ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको मकवानपुर ९ बल बाँकी छदा ९५ रनमा अलआउट भयो । मकवानपुरका लागि सन्देश बस्नेत र गोकुल अधिकारीले समान २१ रन बनाए । सुमन सुनारले १६ रन बनाउदा सुभ कंसकारले ११ रन बनाए । मकवानपुरमाथी जित निकाल्नेक्रममा नवलपुरका अपरिचित पौडेलले ४ ओभर बलिङ्ग गर्दै १ मेडनसहित ८ रन खर्चिएर ३ विकेट लिए । शिशिर भुषाल र कुमार रानाले समान २ विकेट लिदा सुदिप अर्यालले १ विकेट लिए । दोस्रो खेलको प्लेयर अफ द म्याच नवलपुरका बलर अपरिचित पौडेल चुनिए ।

प्रतियोगिता अन्तर्गत भोलि दुइ खेल हुनेछ । पहिलो खेलमा बिहान ९ बजे नवलपुर र पर्सा आमनेसामने हुनेछन् । दोस्रो खेलमा चितवनले मकवानपुरको सामना गर्नेछ । प्रतियोगिता यहि मङ्सिर २७ गतेसम्म संचालन हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू