नारायणी कला मन्दिरमा मंसिर २४ गतेदेखि भरतनाट्यम नृत्य कार्यशाला हुने

एटुजेड समाचार

नारायणगढ – नारायणी कला मन्दिर नारायणगढमा मंसिर २४ गतेदेखि भरतनाट्यम नृत्य कार्यशाला हुने भएको छ । नृत्य निर्देशक संघ चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा उक्त कार्यशाला हुन लागेको हो ।

पाँच दिनसम्म चल्ने उक्त कार्यशाला मंसिर २४ गते शुरु भई २९ गते सम्पन्न हुने आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

कार्यशालामा सहभागीहरुलाई भरतनाट्यम नृत्य निर्देशक स्वजन रघुवंशीले प्रशिक्षण दिनेछन् । रघुवंशी भरतनाट्यममा पिएचडी गरिरहेका नेपालको पहिलो नृत्यकार तथा नृत्य निर्देशक पनि हुन् । यस्तै कत्थकमा पनि उनले ब्याच्लर गर्नुका साथै गोल्ड मेडल हासिल गरेका छन् ।

कार्यशालामा नृत्यमा रुची राख्ने जो कोही सहभागी हुन सक्ने नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिए । नृत्यमा सहभागीलाई एक हजार शुल्क निर्धारण गरिएको समेत उनले बताए । नृत्य अध्ययनमा इच्छुकहरुका लागि यो राम्रो अवसर भएको उनको भनाई छ ।

पहिलो दिन सैद्धान्तिक कक्षा हुनेछ । त्यसपछि प्रयोगात्मक कक्षा हुने कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले बताए । कार्यशाला बिहान ६ देखि ८ तथा साँझ ५:३० देखि ७:३० गरी दुई सिफ्टमा सञ्चालन हुने श्रेष्ठले जानकारी दिए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू