चितवन – चितवनजिल्ला क्रिकेट संघको आयोजनामा चार जिल्ला सम्मिलित ‘भिजिट भरतपुर २०२४ क्वाड्राङ्गुलर टि-ट्वान्टी क्रिकेट सिरिज’ प्रतियोगिता हुने भएको छ । संघले आज नारायणगढ पुल्चोकस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा यहि मङ्सिर २४ गतेदेखि २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।
प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर र पर्सा गरी ४ टोलीको सहभागीता रहनेछ । प्रतियोगिता सिङ्गल राउन्ड लिगका आधारमा खेलाइनेछ ।
अंकतालिकाको शिर्ष दुइमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाण-पत्रको व्यवस्था गरिएको संघका अध्यक्ष सुदिप पियाले बताउनुभयो । यो प्रतियोगितालाई आगामी दिनहरुमा पनि चारवटा जिल्ला मिलेर नै आयोजना गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
साथै, चितवन जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिती चयन भएपछि हालसम्म संघले गरेका कार्यहरुका बारेमा समेत जानकारी गराइएको थियो । क्याम्पाचौरको नेट मर्मत सम्भार, विभिन्न नगर प्रमुखहरुसंग क्रिकेट संरचना बिस्तार गर्ने बारेमा छलफल, बालबालिकालाई क्रिकेटमा आकर्षित गर्न हरेक शनिबार क्याम्प संचालन लगायतका गतिविधीहरु गरिएको संघले जनाएको छ ।