चितवनमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

एटुजेड समाचार

चितवन – चितवनमा छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान ११ः५० बजेको समयमा भरतपुर महानगरपालिका–१८, स्थित गुञ्जनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भरतपुर–१९ बस्ने ३५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको हो ।

भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा गुरुङ गम्भिर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार चालक भरतपुर १८ बस्ने ३० वर्षीय आइतसिंह घर्ती र पछाडी सवार उनकी श्रीमती २६ वर्षीया शुशीला घर्ती घाइते भएका छन् । चालक आइतसिंहको अनुहार र टाउँकोमा चोट लागेको छ भने उनकी श्रीमती शुशीलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै भरतपुर–२८ अम्रौलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार स्थानीय ४८ वर्षीय रणबहादुर बानियाँको मृत्यु भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा गम्भिर घाइते भएका बानियाँको भरतपुर अस्पतालमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

गोलाघाटबाट मेघौलीतर्फ जाँदै गरेको बा.प्र.०६–०१ प ३४७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल चालक भरतपुर–२७ का २७ वर्षीय राजन मल्ल घाइते छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू