काठमाडौं – एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ । दुबईमा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।
पाकिस्तानका लागि अजान अविसले सर्वाधिक ५६ रन बनाए भने साद बाइगले ५० रन जोडे । नेपालका गुल्शन झाले २ विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।
नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अरु नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि मोहम्मद जिसनले ६ विकेट लिए । त्यस्तै, आमिर हसनले २ विकेट लिए ।