चितवन – चितवनको माडीमा महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार माडी नगरपालिका ९ स्थित हनुमानझुलामा मानव बेचबिखन र लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
माइती नेपाल चितवन, हाम्रो भरोसा, आशिष सामाजिक सेवा, सामरी उत्थान, आफन्त नेपाल चितवनको सयुक्त आयोजनामा “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने नाराका साथ महिला माथी हुने साना तथा ठुला हिंसाहरुको अन्त्य गर्नको लागि र मानव बेचबिखनको अन्त्यको लागि हुनुमानझुलाका नागरिकहरुलाई एकदिने सचेतना अभिमुखिकरण गरिएको हो ।
आशिष सामाजिक सेवा नेपालका अध्यक्ष कल्पना सेन्च्युरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष अधिकारीले महिलाहरु माथी हुने अन्यायका विरुद्धमा डटेर लाग्नुपर्ने बताए । त्यस्तै उनले समाजमा हुने विभिन्न खालका सामाजिक समस्याहरुको अन्त्य गरि समुन्नत समाजको निर्माणमा जोड दिनुपर्ने बताए ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियान मंसिर ९ गतेदेखि शुरु भएर यही मङ्सिर २४ गते सम्पन्न हुँदैछ ।