काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई सरकारमा हटाएर देशलाई दुर्दशामा पुर्याएको टिप्पणी गरेका छन्।
झुलाघाट चिवाभन्ज्याङ अभियान अन्तर्गत गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै एमालेले जनताको सुझाव लिएर देशको मुहार फेर्ने अभियानमा अगाडि बढ्ने बताए।
उनले एमालेले बाहेक कसैले देश बनाउन नसक्ने दाबी गरे। उनले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनको लागि पार्टी पङ्क्तिलाई घरघरमा पुग्न आह्वान गरे।
उनले भने, एमाले भनेको काम गर्ने पार्टी हो। त्यसको उदाहरणहरू प्रतिपक्षमा हुँदा लोकतन्त्रको पक्षमा गरेका आन्दोलनहरू, यसले राष्ट्रियताको पक्षमा गरेका आन्दोलनहरू, विकासको सन्दर्भमा गरेको आन्दोलन देख्नुभएको छ। हामी बनाउँछौँ हाम्रो देश, सम्भव छ। एमालेले नेतृत्व गर्नेछ। त्यसका लागि हामीले मिसन ०८४ सफल पार्नुपर्छ।
उनले सरकारलाई भूकम्प प्रभावितलाई आवासको व्यवस्था मिलाउन माग गरे। प्रभावित क्षेत्रको जनजीवन कष्टकर रहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।